काठमाडौं । तिब्बततर्फबाट आएको अप्रत्याशित भीषण बाढीले रसुवागढी भन्सार कार्यालयको संरचनामा पूर्ण क्षति पुर्याएको छ। बाढीले भन्सारको भौतिक संरचनासँगै यार्डमा रहेका सबै सवारी साधनसमेत बगाएको अर्थ मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालयका अनुसार बाढीपछि भन्सारमा कार्यरत कर्मचारीसँग सम्पर्क गर्ने तथा उनीहरूको अवस्थाबारे विवरण संकलन गर्ने काम भइरहेको छ। बाढी अचानक आएका कारण धेरै कर्मचारीले ज्यान जोगाउन आफ्ना फोन तथा अन्य सामानसमेत छाडेर भाग्नुपरेको मन्त्रालयको भनाइ छ।
कर्मचारीसँग सम्पर्क स्थापित हुन नसकेकाले घटनाको पूर्ण विवरण संकलन गर्न केही समय लाग्ने अर्थमन्त्रीको सचिवालयले जनाएको छ।
रसुवागढी भन्सारमा ३६ जनाको दरबन्दी रहेको थियो। तीमध्ये २ जना कर्मचारी बिदामा रहेका थिए। बाँकी कर्मचारीको अवस्थाबारे जानकारी संकलन तथा सम्पर्कको प्रयास भइरहेको छ।
बाढीले भन्सार कार्यालय परिसरमा ठूलो क्षति पुर्याएको छ। विशेषगरी भन्सारको यार्डमा राखिएका सबै सवारी साधन बाढीले बगाएको मन्त्रालयले जनाएको छ।
तिब्बततर्फबाट आएको बाढीले रसुवाको भोटेकोशी नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्याएपछि रसुवागढी भन्सार पनि त्यसको चपेटामा परेको हो। बाढीका कारण नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका रसुवागढीमा रहेको भन्सार पूर्वाधारमा ठूलो क्षति पुगेको छ।
अचानक आएको बाढीका कारण घटनास्थलमा तत्काल पुगेर क्षतिको पूर्ण विवरण संकलन गर्नसमेत कठिनाइ भएको छ। सम्पर्कमा आउन बाँकी कर्मचारी तथा अन्य व्यक्तिको अवस्थाबारे जानकारी प्राप्त भएपछि मात्रै मानवीय क्षतिको यकिन विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ।
बाढीबाट रसुवागढी भन्सारको संरचनामा भएको क्षतिको विस्तृत मूल्याङ्कन तथा थप विवरण संकलन गर्ने काम भइरहेको अर्थ मन्त्रालयले जनाएको छ। भन्सारको संरचना र सवारी साधनमा भएको क्षतिले चीनसँगको व्यापारिक आवागमनमा समेत प्रत्यक्ष असर पार्ने देखिएको छ।