बाढीको जोखिमबीच त्रिशूली अस्पताल सुरक्षित, दुई घाइतेको उपचार हुँदै

2.2k Shares

काठमाडौं । रसुवा–नुवाकोट क्षेत्रमा आएको बाढीले जनजीवन प्रभावित भइरहेका बेला त्रिशूली अस्पताल भने हालसम्म सुरक्षित रहेको अस्पतालका निर्देशक डा. राजेन्द्र लामाले बताएका छन् ।

उनका अनुसार अस्पतालमा कार्यरत चिकित्सक तथा कर्मचारीसमेत सुरक्षित छन् । बाढीमा परेर घाइते भएका दुई जना भने उपचारका लागि अस्पताल आइपुगेका छन् । तुप्चेबाट आएका दुवैको खुट्टामा चोट लागेको र उनीहरूको अवस्था सामान्य रहेको डा. लामाले जानकारी दिए ।

‘तुप्चेबाट आएका दुई जना घाइतेको खुट्टामा चोट लागेको छ । उनीहरूको अवस्था सामान्य छ । उपचार भइरहेको छ । अब बिरामी आउने संख्या बढ्न सक्छ,’ उनले भने ।

बाढीबाट प्रभावित भएर मात्र नभई मानिसहरू आत्तिएर लड्दा समेत घाइते हुन सक्ने भएकाले थप घाइते अस्पतालमा आउन सक्ने उनले बताए ।

अस्पताल हालसम्म सुरक्षित रहे पनि आसपासको क्षेत्रमा बाढीको जोखिम बढिरहेको डा. लामाको भनाइ छ । ‘अझै ठूलो बाढी आयो भने के हुन्छ भन्न सकिँदैन । अहिलेसम्म अस्पताल सुरक्षित नै छ,’ उनले भने ।

बाढीको जोखिम थप बढेमा अस्पतालमा रहेका बिरामीलाई सुरक्षित स्थानमा सार्ने तयारीसमेत गरिएको छ । अस्पतालभन्दा अग्लो स्थानमा रहेको विद्यालयमा बिरामीलाई स्थानान्तरण गर्ने योजना बनाइएको डा. लामाले बताए । यसका लागि प्रमुख जिल्ला अधिकारी तथा प्रदेश सरकारसँग समन्वय भइरहेको उनले जानकारी दिए ।

बाढीका कारण अस्पतालको विद्युत् आपूर्तिसमेत प्रभावित भएको छ । नियमित विद्युत् आपूर्ति नभएपछि अस्पताल डिजेलबाट जेनेरेटर सञ्चालन गरिरहेको छ । तर, मौज्दात डिजेलले कति समय धान्ने भन्ने निश्चित नरहेको डा. लामाले बताए ।

नेटवर्क सेवा प्रभावित हुँदा अस्पतालको बाह्य सम्पर्कमा समेत समस्या भइरहेको छ । यद्यपि, अस्पतालमा उपचार सेवा भने नियमित रूपमा सञ्चालन भइरहेको उनले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा उद्धार कार्य जारी रहेकाले थप घाइते तथा बिरामी अस्पतालमा आउन सक्ने अस्पताल प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार