कांग्रेस विपद्मा सरकारलाई सहयोग गर्न पार्टी संरचना परिचालन गर्ने

1.3k Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले विपद्को समयमा सरकारसँग उपलब्ध स्रोत–साधनले मात्रै राहत, उद्धार तथा व्यवस्थापनको काम सम्भव नहुने बताएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको आह्वानमा भएको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै थापाले विपद्को सामना गर्न सरकारलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको बताए।

उनले राज्यका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने उल्लेख गर्दै कांग्रेसले पनि आफ्नो पार्टी संरचनालाई आवश्यकताअनुसार परिचालन गर्ने बताए।

बैठकमा सडक सफा गर्न जनशक्तिको अभाव रहेको भन्दै गृहमन्त्री सुधन गुरुङले राजनीतिक दलहरूको सहयोग अपेक्षा गरेको थापाले जानकारी दिए। त्यसका लागि कांग्रेसले आफ्नो पार्टी संरचना परिचालन गर्ने प्रतिबद्धता जनाएको उनले बताए।

थापाले विपद् आएपछि केही समय सक्रिय हुने र त्यसपछि बिर्सिने प्रवृत्तिको अन्त्य गर्नुपर्नेमा पनि जोड दिए। आगामी दिनमा यस्ता विपद्का घटना दोहोरिन नदिन सरकारले दीर्घकालीन योजना र तयारीमा ध्यान दिनुपर्ने उनको भनाइ थियो।

उनका अनुसार संसद्भित्रै सर्वदलीय संयन्त्र गठन गरेर विपद् व्यवस्थापनका विषयमा निरन्तर काम गर्न सकिने विषयमा समेत बैठकमा छलफल भएको छ। त्यस्तो संयन्त्रले विपद्को तत्कालीन उद्धार तथा राहतसँगै दीर्घकालीन तयारी र नीतिगत विषयमा समेत काम गर्न सक्ने उनले बताए।

सभापति थापाले जलवायु परिवर्तनका कारण नेपालमा देखिइरहेका प्रभावबारे पनि गम्भीर छलफल आवश्यक रहेको बताए। पछिल्ला वर्षहरूमा बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का घटना बढ्दै गएको सन्दर्भमा जलवायु परिवर्तनको प्रभावलाई ध्यानमा राखेर राज्यको विपद् व्यवस्थापन नीति पुनरावलोकन गर्नुपर्ने उनको भनाइ छ।

 
सम्बन्धित समाचार