भोटेकोशी बाढीका घाइतेको उपचारमा अस्पतालहरू ‘इमर्जेन्सी मोड’ मा

1.4k Shares

काठमाडौं । तिब्बतबाट रसुवातर्फ आएको विनाशकारी बाढीमा परी घाइते भएकाहरूको उपचारका लागि काठमाडौं र नुवाकोटका अस्पतालले आपतकालीन तयारी तीव्र बनाएका छन्।

त्रिवि शिक्षण अस्पतालमा बिहीबार बिहानसम्म बाढी प्रभावित क्षेत्रबाट २६ जना घाइतेलाई उपचारका लागि ल्याइएको छ। अस्पतालका अनुसार उपचारका क्रममा २५ वर्षीय एक पुरुषको मृत्यु भएको छ भने ६ जनाको आईसीयूमा उपचार भइरहेको छ।

त्रिवि शिक्षण अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंका अनुसार बाढी प्रभावित क्षेत्रबाट थप ५० देखि ६० जना घाइते उपचारका लागि आउन सक्ने सूचना प्राप्त भएको छ। सम्भावित बिरामीको चापलाई ध्यानमा राखेर अस्पतालले उपचार टोली र आवश्यक सेवासहितको तयारी अवस्थामा राखेको छ।

अस्पतालका अनुसार थप आउने घाइतेमध्ये अत्यन्त गम्भीर तथा आईसीयू आवश्यक पर्नेभन्दा चोटपटक लागेका बिरामीको संख्या बढी हुन सक्ने अनुमान गरिएको छ।

यसैबीच, नुवाकोटको विदुरस्थित चक्रदेवी अस्पतालले पनि बाढीका घाइतेको उपचारका लागि ‘इमर्जेन्सी मोड’ मा सेवा सञ्चालन गरिरहेको छ। अस्पतालका डा. राकेश परियारका अनुसार बाढी प्रभावित क्षेत्रबाट उद्धार गरिएका घाइतेलाई अस्पतालमा ल्याएर प्राथमिक उपचार तथा आकस्मिक सेवा दिइएको छ।

chakra-devi-hospital-1024x500.jpg

अस्पताल बाढी प्रभावित क्षेत्रबाट करिब एक किलोमिटरको दूरीमा रहेकाले उद्धार गरिएका घाइतेलाई तत्काल उपचारका लागि यहाँ ल्याइएको हो। बिहीबारसम्म चक्रदेवी अस्पतालमा २४ जना बिरामी ल्याइएकामा ९ जनाको अवस्था गम्भीर थियो। उनीहरूलाई नेपाली सेनासँग समन्वय गरी हेलिकप्टरमार्फत काठमाडौं पठाइएको डा. परियारले बताए।

अन्य बिरामीको भने अस्पतालमै उपचार भइरहेको छ। खोज तथा उद्धार कार्य तीव्र हुँदै गएकाले थप घाइते आउने सम्भावना रहेको अस्पतालले जनाएको छ।

बाढीका कारण नुवाकोटको त्रिशूली बजार, बेत्रावती बजार, ढुंगे बजार र देवीघाट क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको छ। सडक तथा पुल बगाउँदा प्रमुख उपचार केन्द्र त्रिशूली जिल्ला अस्पतालसम्म पुग्ने पहुँचसमेत प्रभावित भएको छ।

ढुंगे क्षेत्रका पक्की पुल बगेपछि स्थलमार्गबाट गम्भीर बिरामीलाई काठमाडौं पठाउन कठिनाइ भएको अस्पतालले जनाएको छ। त्यसैले गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत काठमाडौं पठाउनुपर्ने अवस्था आएको हो।

१५ शय्याको चक्रदेवी अस्पतालले आवश्यक परे ‘ट्रायाज’ प्रणालीमार्फत एकैपटक ठूलो संख्यामा बिरामी व्यवस्थापन गर्ने तयारी गरेको छ। तर अस्पतालमा जनशक्ति सीमित रहेको डा. परियारले बताए। दुई जना चिकित्सकसहित सीमित स्वास्थ्यकर्मीले निरन्तर सेवा दिइरहेका छन्।

बाढीपछि अस्पतालको उपचार सेवामा सबैभन्दा ठूलो चुनौती विद्युत् आपूर्ति बनेको छ। विद्युत् सेवा अवरुद्ध हुँदा बिरामीको निरन्तर निगरानीका लागि आवश्यक उपकरण सञ्चालन गर्न समस्या भएको छ।

अस्पतालले पेट्रोलबाट चल्ने इन्भर्टरको सहारामा उपचार सेवा सञ्चालन गरिरहेको छ। तर पेट्रोल अभावका कारण यो वैकल्पिक व्यवस्था पनि लामो समयसम्म कायम राख्न चुनौती देखिएको छ।

ढुंगे क्षेत्रको पेट्रोल पम्पसमेत बाढीले बगाएको तथा बट्टारमा रहेको अर्को पेट्रोल पम्पमा समेत पेट्रोल अभाव भएपछि अस्पताललाई जेनेरेटर सञ्चालनमा कठिनाइ भएको डा. परियारले बताए।

यता, बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी रहेकाले घाइतेको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ। प्रभावित क्षेत्रबाट घाइतेलाई विभिन्न अस्पतालमा ल्याउने क्रम जारी छ भने सम्पर्कविहीन व्यक्तिका आफन्तसमेत अस्पताल तथा उद्धार केन्द्रमा पुगिरहेका छन्।

सम्बन्धित समाचार