भोटेकोसी–त्रिशूली बाढीको संकटलाई राष्ट्रिय एकताको संकल्पमा बदलौँ : प्रचण्ड

1.6k Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोसी–त्रिशूली नदीमा आएको भीषण बाढीबाट उत्पन्न संकटलाई राष्ट्रिय एकताको नयाँ संकल्पमा बदल्नुपर्ने बताएका छन्।

बिहीबार सिंहदरबारमा बसेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै प्रचण्डले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकाले सबै पक्ष समझदारीका साथ अघि बढ्नुपर्ने बताए।

उनले विपद्को समयमा राजनीतिक तथा अन्य मतभेदभन्दा माथि उठेर प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा केन्द्रित हुनुपर्नेमा जोड दिए।

प्रचण्डले भने, ‘अहिले भोटेकोसीमा आएको बाढीले मानवीय क्षति र भौतिक क्षति भएको बेलामा समझदारीको साथ जानु पर्दछ। नकारात्मक परिघटना भएको यसलाई राष्ट्रिय एकताको नयाँ संकल्पमा बदल्नुपर्दछ।’

उनले विपद्पछि सरकारले अघि बढाइरहेको उद्धार तथा राहत कार्यप्रति सकारात्मक धारणा व्यक्त गर्दै प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियताको प्रशंसा गरे।

‘मोटामोटी अहिले जसरी गरिएको देखिएको छ, प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता राम्रो नै छ,’ उनले भने।

भोटेकोसीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्‍याएको छ। बाढीपछि उद्धार, राहत तथा पुनःस्थापनाका लागि सरकारसँगै सुरक्षा निकाय, राजनीतिक दल र स्थानीयस्तरका विभिन्न संयन्त्र परिचालन भएका छन्।

यही अवस्थाबारे छलफल गरी आगामी रणनीति तय गर्न सिंहदरबारमा सर्वदलीय बैठक बसेको थियो। बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूले विपद्को सामना गर्न दलगत स्वार्थभन्दा माथि उठेर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

सम्बन्धित समाचार