जलवायु संकटसँग जुध्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक : रवि लामिछाने

1.3k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरणका लागि नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै लामिछानेले तीनवटै देश एउटै पर्वतीय प्रणालीसँग जोडिएकाले हिमालय क्षेत्रमा देखिएका जलवायुजन्य जोखिमसँग मिलेर जुध्नुपर्ने बताएका हुन्।

‘हाम्रा नदीहरू एउटा सीमाभन्दा माथिबाट सुरु हुन्छन् र अर्को सीमाभन्दा तल पुगेर टुंगिन्छन्,’ उनले भने।

तीन देशका संस्थागत संरचनामा हुने परिवर्तनको गतिभन्दा हिमालय क्षेत्रमा भइरहेको परिवर्तन निकै तीव्र रहेको लामिछानेको भनाइ छ।

उनले जलवायु परिवर्तनको असर न्यूनीकरण, पूर्वसूचना प्रणालीको विकास तथा सीमापार विपद्सम्बन्धी तथ्यांक तत्काल आदानप्रदान गर्न नेपाल, भारत र चीनबीच सहकार्यको प्रस्ताव गरे।

‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणाली विकास गर्न र सीमापार विपद्सम्बन्धी तथ्यांक तत्काल आदानप्रदान गर्न सहकार्य गरौँ,’ उनले भने।

हिमनदी पग्लिने वा हिमपहिरो जाने प्राकृतिक प्रक्रियालाई तत्काल रोक्न नसकिए पनि त्यसबाट निम्तिन सक्ने अचानकका विपद्को जोखिम भने न्यूनीकरण गर्न सकिने उनले बताए। रसुवामा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति पुर्‍याएको उल्लेख गर्दै लामिछानेले यस घटनाका कारण सिंगो देश शोकमा डुबेको बताए।

सम्बन्धित समाचार