बाढी प्रभावित क्षेत्रमा रास्वपाको ‘र्‍यापिड एक्सन टिम’, उद्धारदेखि राहतसम्म परिचालन

1.6k Shares

काठमाडौँ । नेपाल–चीन सीमा रसुवागढी तथा भोटेकोशी नदीमा भदौ १० गते आएको हिमबाढीपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट युवाहरू बाढी प्रभावित क्षेत्रमा स्वयंसेवकका रूपमा खटिएका छन् ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि रास्वपा निकट ‘र्‍यापिड एक्सन टिम’का युवाहरू उद्धार, राहत वितरण, घाइतेको उपचारमा सहयोग तथा सरसफाइका काममा परिचालित भएका हुन् ।

र्‍यापिड एक्सन टिमका संयोजक वैकुण्ठ थापा ‘आशिष’का अनुसार भदौ १० गतेको बाढीपछि सङ्घीय, प्रदेश तथा स्थानीय सरकारसँग समन्वय गरी युवाहरूलाई प्रभावित क्षेत्रमा परिचालन गरिएको हो ।

उनका अनुसार अहिले रसुवाका आमाछोदिङ्मो, उत्तरगया, गोसाइँकुण्ड र कालिका गाउँपालिकामा उद्धार तथा राहतको काम भइरहेको छ । त्यस्तै नुवाकोटको विदुर नगरपालिका, किस्पाङ गाउँपालिका, तारकेश्वर र बेलकोटगढी नगरपालिकामा पनि टोली केन्द्रित भएर काम गरिरहेको छ ।

बाढी प्रभावितका लागि सात ट्रक खाद्यान्न, लत्ताकपडा तथा ओढ्ने–ओछ्याउने सामग्री नुवाकोट क्षेत्रमा पठाइएको थापाले जानकारी दिए । त्रिशूली क्षेत्रमा पुल बगाएपछि नदीपारिको प्रभावित क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गरेर राहत सामग्री पुर्‍याइएको उनले बताए ।

“अहिले तत्काल उद्धार, बेपत्ताको खोजी, खाने–बस्ने र सुत्ने व्यवस्था, औषधि, लत्ताकपडा तथा खाद्यान्न आवश्यक छ,” थापाले भने, “हाम्रो ध्यान उद्धारसँगै राहत सामग्री प्रभावितसम्म पुर्‍याउने र घाइतेको उपचारमा केन्द्रित छ ।”

उनका अनुसार रास्वपा निकट ७० भन्दा बढी युवा घाइतेको उपचारमा सहयोग, राहत वितरण तथा सरसफाइका काममा प्रत्यक्ष खटिएका छन् । पार्टीका युवा तथा विभिन्न सामाजिक संस्था र समाजसेवीबाट प्राप्त राहत सामग्री प्रभावित क्षेत्रमा पुर्‍याउने काम भइरहेको उनले बताए ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले बाढी आएलगत्तै पार्टी सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनुका साथै पार्टीको युवा दस्ता प्रभावित क्षेत्रमा परिचालन गरिएको बताए । उनका अनुसार र्‍यापिड एक्सन टिमलाई सङ्घीयदेखि स्थानीय सरकारसँग समन्वय गरेर स्वयंसेवी रूपमा काम गर्न निर्देशन दिइएको छ ।

“युवा दस्ता बाढी आएलगत्तै प्रभावित क्षेत्रमा खटाइएको छ । सङ्घीयदेखि स्थानीय सरकारको समन्वयमा काम भइरहेको छ,” खरेलले भने, “तर ती युवालाई पार्टीको लोगो देखिने गरी कुनै लुगा, झन्डा वा अन्य सङ्केत प्रयोग नगर्न निर्देशन दिइएको छ । उनीहरू स्वयंसेवी रूपमा फिल्डमा खटिएका छन् ।”

रास्वपाका नेता–कार्यकर्ता, मन्त्री तथा सांसदसमेत प्रभावित क्षेत्रमा पुगेर उद्धार, घाइतेको उपचारमा सहयोग, राहत वितरण तथा पीडित परिवारलाई आवश्यक सहयोग गरिरहेको पार्टीको भनाइ छ ।

प्रवक्ता खरेलका अनुसार तत्कालको उद्धार तथा राहतको काम सकिएपछि प्रभावित क्षेत्रको पुनस्र्थापनाका लागि समेत युवा दस्ता परिचालन गरिनेछ ।

सम्बन्धित समाचार