बाढीपछि शवको चाप बढ्यो, त्रिवि शिक्षण अस्पतालमा व्यवस्थापन चुनौती

1.8k Shares

काठमाडौँ । विनाशकारी हिमबाढीपछि विभिन्न जिल्लाबाट ल्याइएका शवको सङ्ख्या बढ्दै गएपछि त्रिवि शिक्षण अस्पतालमा शव व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

हिमबाढीपछि रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लाबाट हालसम्म ८० वटा शव त्रिवि शिक्षण अस्पताल ल्याइएको छ । एकैपटक ठूलो सङ्ख्यामा शव ल्याइएपछि सीमित क्षमताको शवगृहमा व्यवस्थापन गर्न कठिनाइ भएको हो ।

त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरीका अनुसार सामान्य अवस्थामा अस्पतालको शवगृहमा करिब १५० वटा शव राख्न सकिन्छ । विशेष परिस्थितिमा व्यवस्थापन मिलाएर करिब दुई सय वटासम्म शव राख्न सकिए पनि लामो समयसम्म शव राख्नुपर्ने अवस्था आएमा समस्या हुने उहाँले बताउनुभयो ।

अहिले बाढीका कारण एकैपटक ठूलो सङ्ख्यामा शव थपिएका छन् । शव आउने क्रम अझै जारी रहेकाले आगामी दिनमा व्यवस्थापन थप चुनौतीपूर्ण बन्न सक्ने अस्पतालले जनाएको छ ।

डा. चौधरीले शवको वैज्ञानिक ढङ्गबाट जमिनमुनि व्यवस्थापन गर्नुपर्ने सुझाव दिनुभएको छ । त्यसो नगरे अस्पतालमा शव राख्ने स्थानको अभाव हुने उहाँको भनाइ छ ।

“यहाँ पहिलेदेखि नै केही पुराना शव छन्,” उहाँले भन्नुभयो, “नयाँ शव थपिँदै जाँदा समस्या देखिएको छ ।”

उहाँका अनुसार अस्पतालमा केही शव सात–आठ वर्षदेखि समेत रहेका छन् । गोरखाका नन्दप्रसाद अधिकारीको शवसमेत लामो समयदेखि अस्पतालको शव भण्डारणकक्षमा रहेको उहाँले जानकारी दिनुभयो ।

कानुनी प्रक्रिया पूरा नभएसम्म त्यस्ता शव अन्त्येष्टि गर्न नमिल्ने भएकाले अस्पतालमा लामो समयसम्म शव राख्नुपर्ने अवस्था आउने गरेको उहाँले बताउनुभयो । विशेषगरी आफन्त नभएका तथा पहिचान हुन नसकेका शव अस्पतालमा आउने गरेका छन् ।

सामान्य अवस्थामा एक वर्षमा करिब एक सयसम्म यस्ता शव अस्पतालमा आउने गरेको डा. चौधरीले बताउनुभयो । कानुनी प्रक्रिया पूरा भएपछि सम्बन्धित निकायसँगको समन्वयमा त्यस्ता शवको अन्त्येष्टि गरिँदै आएको छ ।

अस्पतालका सूचना अधिकारी कालीप्रसाद रोसायाराका अनुसार बाढी प्रभावित क्षेत्रबाट ल्याइएका शवको पहिचान, पोस्टमार्टम तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्नुपर्ने भएकाले तत्काल अन्त्येष्टि गर्न सकिने अवस्था हुँदैन ।

चिकित्सा शिक्षाको अध्ययन तथा पठनपाठनका लागि शरीर दान गरेका व्यक्तिका शव भने सम्बन्धित प्रक्रिया पूरा गरेपछि मेडिकल कलेजले लैजाने गरेका छन् । केही अवस्थामा पहिचान हुन नसकेका तथा आफन्त नभएका शवसमेत कानुनी प्रक्रिया पूरा भएपछि चिकित्सा शिक्षाका लागि प्रयोग हुने गरेको अस्पतालले जनाएको छ ।

बाढीका कारण एकैपटक ठूलो सङ्ख्यामा शव थपिएपछि पुराना शवको व्यवस्थापनसँगै नयाँ शवको भण्डारण अस्पतालका लागि चुनौती बनेको छ ।

विशेषगरी पहिचान हुन नसकेका शवको हकमा आफन्तको खोजी तथा डिएनए परीक्षण लगायतका प्रक्रिया पूरा गर्न समय लाग्ने भएकाले लामो समयसम्म शव व्यवस्थापन गर्नुपर्ने अवस्था आउन सक्ने डा. चौधरीले बताउनुभयो ।

उहाँका अनुसार अहिले शव जमिनमुनि वैज्ञानिक ढङ्गबाट व्यवस्थापन गर्नुको विकल्प नरहेको अवस्था देखिएको छ ।

सूचना अधिकारी रोसायाराले भने बाढीबाट ल्याइएका शवको पहिचान तथा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभयो ।

सम्बन्धित समाचार