काठमाडौँ । नेकपा (बहुमत)ले आफ्ना नेता उदयबहादुर चलाउने ‘दीपक’लाई पार्टीका सबै जिम्मेवारीबाट मुक्त गरेको छ। पार्टीले आइतबार जारी गरेको विज्ञप्तिमार्फत अध्यक्ष मण्डलका सदस्यसमेत रहेका चलाउनेलाई कारबाही गरिएको जनाएको हो। पार्टी विधानको भाग ५, धारा २७ अनुसार उनलाई सबै जिम्मेवारीबाट हटाइएको विज्ञप्तिमा उल्लेख छ।
पार्टीले चलाउनेमाथि पार्टीको नीति, विधि तथा निर्णयविपरीत गतिविधि गरेको आरोप लगाएको छ। त्यस्तै, पार्टीभित्र गुटबन्दी र विभाजनको प्रयास गर्नुका साथै षड्यन्त्रपूर्ण गतिविधिमा मुख्य भूमिका खेलेको आरोप पनि लगाइएको छ।
पार्टीले आफ्ना केन्द्रीय सदस्य तथा कार्यकर्तालाई गुटबन्दी, विभाजनकारी, अवसरवादी र अराजकतावादी गतिविधिको भ्रममा नपर्न आग्रह गरेको छ।
पार्टी अध्यक्ष कञ्चनले जारी गरेको वक्तव्यमा नेता तथा कार्यकर्तालाई पार्टीका निर्णयप्रति जिम्मेवार र अनुशासित भएर अघि बढ्न आग्रह गरिएको छ।
चलाउनेलाई गरिएको कारबाहीबारे उनको तर्फबाट भने हालसम्म कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन।