काठमाडौँ । नेपाली कांग्रेसका सचेतक निश्कल राईले बाढीबाट प्रभावित नागरिकको राहत, खोज तथा उद्धार र पुनर्स्थापनाका लागि संसद् सञ्चालन गर्नुपर्ने बताएका छन्।
सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै राईले विपत्तिको सामना सरकार एक्लैले गर्न नसक्ने भन्दै सबै पक्ष एकजुट हुनुपर्ने बताए।
‘यो विपत्ति सरकारलाई मात्र आएको होइन, हामी सबैलाई आएको हो । त्यसैले यो विपत्तिमा एकजुट हुनुपर्ने स्थिति छ,’ उनले भने।
उनले विपत्तिका बेला सरकारको समन्वयकारी भूमिका अझ प्रभावकारी हुनुपर्ने बताए। नागरिकलाई राज्य आफ्नो साथमा रहेको अनुभूति दिलाउन र सरकारप्रति विश्वास कायम राख्न संसद् सञ्चालन आवश्यक रहेको उनको भनाइ थियो।
राईले बाढीपीडितको व्यवस्थापन, राहत वितरण, खोज तथा उद्धार, पुनर्स्थापना र पुनर्संरचनाका कामलाई प्रभावकारी बनाउन उच्चस्तरीय संयन्त्र गठन गर्न सरकारसँग आग्रह गरे।
उनका अनुसार संसद् सञ्चालन भएपछि विपत्तिसँग सम्बन्धित विषयमा व्यापक छलफल गर्न सकिनेछ। संसद्मा उठेका विषयलाई आधार बनाएर सरकारले आवश्यक समाधानतर्फ अघि बढ्नुपर्ने उनले बताए।
राहत वितरणमा एकद्वार प्रणाली अपनाउने भनिएको अवस्थामा त्यसलाई निष्पक्ष र प्रभावकारी बनाउन पनि सरकारले उच्चस्तरीय समिति गठन गर्नुपर्ने राईको भनाइ छ।
‘सदन सुचारु हुनेछ र सदनमा यस विषयमा थुप्रै कुरा उठ्नेछन् । ती उठेका कुरालाई सरकार समाधानतर्फ लैजानेछ भन्ने हामीलाई आशा छ,’ उनले भने।