काठमाडौँ । रसुवा बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरेर फर्किएका जनमत पार्टीका महासचिव चन्दन सिंहले खोज, उद्धार, राहत तथा विस्थापितको व्यवस्थापनमा अझै धेरै समस्या रहेको बताएका छन्।
राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेका सिंहले राहत वितरणमै समेत समस्या देखिएको बताए। उनका अनुसार बट्टार बजारमा चार–पाँचवटा होल्डिङ सेन्टर बनाएर प्रभावितलाई राखिए पनि घरबारविहीन भएका स्थानीयको दीर्घकालीन व्यवस्थापन हुन सकेको छैन।
उनले घर र बजार नै गुमाएका परिवारलाई होल्डिङ सेन्टरमा राखेर खाना तथा बस्ने व्यवस्था गर्नुपर्ने अवस्था रहेको बताए। उद्धारका लागि हेलिकप्टर निरन्तर परिचालन भए पनि उद्धारपछि प्रभावितको व्यवस्थापन, आफन्तसँग समन्वय तथा शव पहिचानमा समेत समस्या रहेको उनको भनाइ छ।
सिंहका अनुसार बाढीपीडित परिवारमा खाद्यान्नसँगै कपडा, ओढ्ने–ओछ्याउनेलगायत अत्यावश्यक सामग्रीको अभाव छ। विशेषगरी साना बालबालिकाले घरसँगै आफ्ना अधिकांश सामान गुमाएकाले तत्काल कपडा र अन्य सामग्री उपलब्ध गराउनुपर्ने उनले बताए।
बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनामा सबै राजनीतिक दललाई सहभागी गराउने उद्देश्यले सर्वदलीय संयन्त्र बनाउने भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको सिंहले बताए।
उनका अनुसार फिल्डमा दलीय संयन्त्र र सरकारबीच प्रभावकारी समन्वय हुन सकेको छैन। ‘सरकारले एक्लै गर्छु’ भन्ने सोचका कारण समस्या भएको उनको निष्कर्ष छ। राहत तथा पुनःस्थापनाको काममा सरकारसँगै राजनीतिक दल, स्थानीय तह र अन्य सरोकारवालाबीच प्रभावकारी समन्वय आवश्यक रहेको उनले बताए।