राहत वितरण व्यवस्थित हुन सकेन, सांसद सुनारले उठाए प्रश्न

2.3k Shares

 प्रतिनिधिसभाको बैठकमा सांसद सुनारले विपद्पीडितलाई राहत वितरण गर्ने क्रममा सरकारले लागू गरेको एकद्वार प्रणाली प्रभावकारी हुन नसकेको बताउनुभएको छ।

उहाँले विपद्का कारण ठूलो संख्यामा नागरिक प्रभावित भएको अवस्थामा राहत तथा उद्धारका कामलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो। प्रभावित क्षेत्रमा आवश्यकताअनुसार राहत सामग्री पुग्न नसकेको तथा विभिन्न निकायबीच पर्याप्त समन्वय हुन नसकेको उहाँको भनाइ थियो।

सांसद सुनारले विपद्पीडितको वास्तविक आवश्यकता पहिचान गरेर राहत वितरण गर्नुपर्ने बताउनुभयो। एउटै स्थानमा अत्यधिक राहत सामग्री पुग्ने तर कतिपय प्रभावित परिवार आवश्यक सहयोगबाट वञ्चित हुने अवस्था आउन नदिन राज्यका सबै संयन्त्रबीच प्रभावकारी समन्वय आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो।

उहाँले राहत वितरणमा स्थानीय तह, सुरक्षा निकाय, सरकारी निकाय तथा गैरसरकारी र सामाजिक संघसंस्थाबीच स्पष्ट जिम्मेवारी तोकेर काम गर्नुपर्ने धारणा राख्नुभयो। विपद्का बेला पीडित नागरिकलाई तत्काल खाद्यान्न, कपडा, औषधि, अस्थायी आवासलगायत अत्यावश्यक सामग्री उपलब्ध गराउनु राज्यको प्राथमिक दायित्व भएको उहाँले बताउनुभयो।

सांसद सुनारले राहत वितरणमा देखिएका कमजोरी तत्काल सुधार गरी प्रभावित नागरिकलाई समान र न्यायोचित ढंगबाट सहायता उपलब्ध गराउन सरकारको ध्यानाकर्षण गराउनुभयो। साथै, विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका कामलाई पनि राहतसँगै प्राथमिकतामा राख्नुपर्ने उहाँको भनाइ थियो।

सम्बन्धित समाचार