भोटेकोसी बाढीबारे प्रतिनिधिसभामा आज विशेष प्रस्ताव प्रस्तुत हुँदै

1.1k Shares

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। संघीय संसद् भवन नयाँबानेश्वरमा बस्ने बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोसी–त्रिशूली नदीमा आएको बाढी र त्यसबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

सभामुख अर्यालले बाढीबाट भएको ठूलो जनधनको क्षतिप्रति प्रतिनिधिसभाका तर्फबाट गहिरो दुःख व्यक्त गर्नेछन्।

संघीय संसद् सचिवालयले उपलब्ध गराएको विशेष प्रस्तावमा भदौ १० गते बुधबार भोटेकोसी–त्रिशूली नदीमा आएको बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेँसी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन तथा गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको उल्लेख छ।

बाढीका कारण ठूलो संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै धेरैको मृत्यु भएको र व्यापक जनधनको क्षति भएको भन्दै प्रतिनिधिसभाले दुःख व्यक्त गर्ने प्रस्तावमा उल्लेख छ।

त्यस्तै, घटनाबाट घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै दिवंगतप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्ने प्रस्तावमा उल्लेख गरिएको छ।

पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफल

यसैबीच, आजै अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक पनि बस्दैछ। बिहान ९ः३० बजे बस्ने समितिको बैठकमा रसुवा बाढी तथा पहिरोका कारण पर्यटन क्षेत्रमा परेको प्रभावबारे छलफल हुने कार्यसूची छ।

बाढीका कारण पर्यटन पूर्वाधार, पर्यटक आवागमन तथा पर्यटन व्यवसायमा परेको असरबारे समितिले छलफल गर्नेछ।

विशेष सेवा ऐनसम्बन्धी विधेयकमा दफावार छलफल

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १२ः१५ बजे बस्नेछ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साबिकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ।

प्रतिनिधिसभाको मुख्य बैठकअघि नै संसदीय समितिहरूले बाढीबाट प्रभावित क्षेत्र र अन्य विधायनसम्बन्धी विषयमा छलफल गर्ने भएका हुन्।

सम्बन्धित समाचार