रसुवा बाढीका बेवारिसे शव पहिचान गर्न परिवारका सदस्यको डीएनए नमुना सङ्कलन

1.2k Shares

नारायणगढ । रसुवा बाढीमा परी मृत्यु भएका तर सनाखत हुन नसकेका शवको पहिचानका लागि परिवारका सदस्यको डीएनए परीक्षण गर्न रगतको नमुना सङ्कलन सुरु गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनले बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भक्तपुर सेवा एकाइ चितवन र जनस्वास्थ्य कार्यालय, भरतपुरको सहयोगमा रगत सङ्कलन केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको हो।

भरतपुर महानगरपालिका–१० स्थित चितवन उद्योग सङ्घको परिसरमा स्थापना गरिएको केन्द्र बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन हुने चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिनुभयो।

भोटेकोशी नदीमा आएको बाढीका क्रममा फेला परेका तर पहिचान खुल्न नसकेका शवको पहिचानका लागि परिवारका सदस्यको डीएनए परीक्षण गर्ने व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ। त्यसका लागि बाबु, आमा, छोरा वा छोरीमध्ये कुनै एक जनाको रगतको नमुना सङ्कलन गरिनेछ।

डीएनए परीक्षणका लागि नमुना दिन आउने व्यक्तिले आफ्नो पहिचान खुल्ने कागजातसँगै दुई प्रति पासपोर्ट साइजको फोटो ल्याउन प्रहरीले आग्रह गरेको छ।

प्रहरीका अनुसार मङ्गलबारदेखि सञ्चालनमा आएको केन्द्रमा पहिलो दिन तीन जनाको रगतको नमुना सङ्कलन गरिएको छ। रगत सङ्कलन कार्य आज पनि जारी रहने जनाइएको छ।

डीएनए परीक्षणबाट परिवारका सदस्यसँगको जैविक सम्बन्ध पहिचान गरी सनाखत हुन नसकेका शवको पहिचान गर्न सहयोग पुग्ने प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार