हङकङ । हङकङका चर्चित लोकतन्त्रवादी युवा नेता जोशुवा वाङले राष्ट्रिय सुरक्षासम्बन्धी नयाँ मुद्दामा आफूविरुद्धको अभियोग स्वीकार गरेका छन्। बुधबार हङकङको उच्च अदालतमा भएको सुनुवाइका क्रममा २९ वर्षीय वाङले विदेशी शक्तिसँग मिलेमतो गरेको अभियोगमा दोष स्वीकार गरेका हुन्।
अभियोग स्वीकार गरेसँगै उनले थप लामो समय जेलमा बिताउनुपर्ने सम्भावना बढेको छ। उक्त अपराधमा अधिकतम जन्मकैदसम्मको सजाय हुनसक्ने व्यवस्था रहेको छ।
वाङमाथि सन् २०२० को जुलाईदेखि नोभेम्बरसम्म पूर्वसांसद नाथन ल र अन्य व्यक्तिसँग मिलेर हङकङ र चीनविरुद्ध विदेशी मुलुक तथा संस्थालाई प्रतिबन्ध तथा अन्य दबाबमूलक कदम चाल्न आग्रह गरेको आरोप लागेको थियो। यो मुद्दा बेइजिङले सन् २०२० मा हङकङमा लागू गरेको राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत चलाइएको हो।
वाङ यसअघि नै कारागारमा छन्। सन् २०२४ मा अनौपचारिक प्राथमिक निर्वाचनसँग सम्बन्धित ‘राज्य विप्लव’ मुद्दामा दोषी ठहर भएपछि उनलाई चार वर्ष आठ महिनाको जेल सजाय सुनाइएको थियो। उक्त सजाय पूरा हुनुअघि नै उनीमाथि दोस्रो राष्ट्रिय सुरक्षा मुद्दा अघि बढाइएको हो।
सन् २०१४ को ‘अम्ब्रेला मुभमेन्ट’ हुँदै हङकङको लोकतन्त्रवादी आन्दोलनमा चर्चित बनेका वाङ पछिल्लो समय चीनको राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत कारबाहीमा परेका प्रमुख लोकतन्त्रवादी नेतामध्ये एक हुन्।
बेइजिङले वाङलगायत लोकतन्त्रवादी अभियन्तामाथि राष्ट्रिय सुरक्षाविरुद्ध गतिविधि गरेको आरोप लगाउँदै आएको छ। आलोचकहरूले भने राष्ट्रिय सुरक्षा कानुनको प्रयोगबाट हङकङमा राजनीतिक असहमति र लोकतान्त्रिक गतिविधिमाथि व्यापक अंकुश लगाइएको आरोप लगाउँदै आएका छन्।
बुधबारको सुनुवाइपछि वाङको सजाय पछि निर्धारण गरिनेछ। दोष स्वीकार गरेकाले सजायमा केही राहत पाउन सक्ने भए पनि उनीमाथि थप वर्ष जेल सजाय हुने सम्भावना रहेको छ।