प्राकृतिक विपत्तिप्रति देउवा समूहद्वारा दुःख व्यक्त
1.1k
Shares
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहको बैठकले पछिल्लो समय देशका विभिन्न क्षेत्रमा गएको बाढी, पहिरो तथा अन्य प्राकृतिक विपत्तिबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको छ।
बैठकमा प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरिएको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
बैठकले विपद्का कारण विस्थापित तथा प्रभावित नागरिकलाई तत्काल राहत, उद्धार र पुनःस्थापनाको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। विपद्को समयमा राज्यका सबै संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गरी प्रभावित क्षेत्रमा आवश्यक खाद्यान्न, औषधि, आवास तथा अन्य अत्यावश्यक सामग्री पुर्याउनुपर्नेमा बैठकमा जोड दिइएको छ।
देशका विभिन्न क्षेत्रमा बाढी तथा पहिरोका कारण सडक, पुल, विद्युत् आयोजना, घर तथा सार्वजनिक संरचनामा ठूलो क्षति पुगेको भन्दै बैठकले क्षतिको यथार्थ विवरण संकलन गरी पुनर्निर्माणको काम तत्काल अघि बढाउनुपर्ने बताएको छ।
बैठकमा विपद् व्यवस्थापनमा देखिएका कमजोरीको समीक्षा गर्दै आगामी दिनमा यस्ता विपत्तिबाट हुने क्षति न्यूनीकरणका लागि पूर्वतयारी र दीर्घकालीन योजना आवश्यक रहेको विषयमा समेत छलफल भएको जनाइएको छ।
देउवा समूहले विपद्को समयमा राजनीतिक मतभेदभन्दा माथि उठेर प्रभावित नागरिकको उद्धार तथा राहतमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएको छ।