काठमाडौं । प्रतिपक्षी दल नेकपाका संयोजक तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन शाहको कार्यशैलीमाथि प्रश्न उठाएका छन्।
बुधबार प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीले संसद्का सबै सांसदलाई विश्वासमा लिनुपर्ने भए पनि त्यसतर्फ पर्याप्त प्रयास नभएको बताएका हुन्।
उनले प्रधानमन्त्री संसद्मा आएर केही विषयमा ब्रिफिङ गर्नु सकारात्मक भए पनि सरकारको नेतृत्वले प्रतिपक्षी मात्रै नभई आफ्नै सांसदसहित संसद्का सबै पक्षलाई विश्वासमा लिनुपर्ने बताए।
‘सरकारको मुख्य नेतृत्व आज आउनुभयो, केही ब्रिफिङ गर्नुभयो, यस अर्थमा धन्यवाद भन्छु। तर अरूलाई पनि विश्वासमा लिनुपर्थ्यो। संसद्लाई विश्वासमा लिनु भनेको खाली प्रतिपक्षीलाई मात्रै होइन,’ प्रचण्डले भने।
प्रधानमन्त्रीको व्यवहारले आफ्नै सांसदलाई समेत विश्वासमा लिने प्रयास नदेखिएको उनको आरोप थियो। उनले प्रधानमन्त्री संसद्मा आएर कसैसँग भेटघाट नगरी फर्किने शैलीप्रति समेत प्रश्न उठाए।
‘उहाँ आउनुहुन्छ, कसैको अनुहार नहेरी जानुहुन्छ, यो के तरिका हो ? यस्तो हुँदैन। प्रधानमन्त्री त हामी सबैको हो। जतिबेला हामी सबैले सहयोग गर्छौं भनिरहेका छौं,’ प्रचण्डले भने।
‘प्रधानमन्त्रीलाई ठूलो अवसर छ’
प्रचण्डले प्रधानमन्त्री बालेन शाहले अहिले ठूलो अवसर पाएको भन्दै त्यसलाई गुम्न दिन नहुने बताए। देश संकटमा रहेका बेला प्रधानमन्त्रीले लामो भाषणभन्दा प्रभावकारी नेतृत्व दिनुपर्ने उनको भनाइ थियो।
‘अहिलेको तरिकाले चाहिँ हुँदैन जस्तो लाग्छ। उहाँलाई अवसर प्राप्त छ। गुम्न दिनुहुँदैन,’ उनले भने।
उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभवबाट समेत संकटको समयमा सरकारले जनतालाई आश्वासनभन्दा राज्यको प्रत्यक्ष उपस्थिति महसुस गराउनुपर्ने बताए।
‘यस्तो बेलामा गर्नुपर्ने संकल्प भनेको धेरै लामो भाषण होइन। नेतृत्व खोजेको छ देशले। जनताले आश्वासन खोजेका छैनन्। हरेक ठाउँमा सरकारको उपस्थिति खोजेका छन्,’ प्रचण्डले भने।
सामाजिक सञ्जालमा पोस्ट गरेर मात्रै संकट समाधान नहुने भन्दै उनले प्रधानमन्त्रीलाई व्यवहारमै सरकारको उपस्थिति देखाउन आग्रह गरे।
‘सोसल मिडियामा पोस्ट हैन। सोसल मिडियामा पोस्ट गरेर तपाईंहरूले चुनाव त जित्नुभयो तर यो संकट समाधान हुँदैन,’ उनले भने।
‘संकटमा राज्य देखिनुपर्छ’
देश अहिले गम्भीर संकटमा रहेको उल्लेख गर्दै प्रचण्डले राष्ट्रिय एकता कायम राख्नु सरकारको प्रमुख दायित्व भएको बताए।
विपद्का बेला राज्यको उपस्थिति र राष्ट्रिय एकता दुवै देखिनुपर्ने उनको भनाइ थियो। तर एकता कायम गर्ने जिम्मेवारी मुख्य रूपमा प्रधानमन्त्रीकै हुने उनले बताए।
‘संकटमा राज्य देखियोस्, विपत्तिमा राष्ट्र एकजुट देखियोस्। एकजुट त मैले पारेर हुँदैन। हिजो त हुने जमाना थियो। अहिले अर्को जमाना आएको छ तपाईंहरूको,’ प्रचण्डले भने।
उनले प्रधानमन्त्री बालेन शाहलाई आफ्नो पार्टीको मात्र नभई सबैको प्रधानमन्त्रीका रूपमा भूमिका निर्वाह गर्न आग्रह गरे।
‘तपाईंहरूको नेता प्रधानमन्त्री हाम्रो पनि प्रधानमन्त्री हो,’ उनले भने।
प्रचण्डले प्रधानमन्त्रीले सबैको विश्वास जित्न नसके परिस्थिति प्रतिकूल बन्न सक्ने चेतावनीसमेत दिए।
‘उहाँले गम्भीर भएर सबैको विश्वास जित्न सक्नु भएन भने समयले नपर्खिन सक्छ उहाँलाई पनि। यति ध्यान रहोस्,’ उनले चेतावनी दिए।