गोरखा । रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएका आफन्तको खबर पाउने आशामा बसेका गोरखाको पालुङटार नगरपालिका–९ नौखोरका बासिन्दालाई एउटा नयाँ नम्बरबाट आएको फोनले गहिरो पीडा थपिदियो। फोनमार्फत बेपत्ता व्यक्तिको खोजी तथा अन्त्येष्टिसम्बन्धी सूचना आएपछि गाउँभर शोक छाएको हो।
बाढीमा हराएका आफ्ना परिवारजनको शव फेला नपरेपछि नौखोरका स्थानीयले धार्मिक परम्पराअनुसार कुशको शव बनाएर अन्त्येष्टि गर्न बाध्य भएका छन्। वर्षौँसम्म सम्झिँदा पनि बिर्सन नसकिने पीडा र शून्यता गाउँलेहरूले महसुस गरिरहेका छन्।
स्थानीयका अनुसार एउटै गाउँका धेरै व्यक्ति विपद्मा परेपछि गाउँको सामाजिक र भावनात्मक संरचनामै गहिरो असर परेको छ। प्रियजनको अवस्था अझै अज्ञात हुँदा परिवारजन अन्योल, शोक र मानसिक तनावमा रहेका छन्।
भोटेकोशी बाढीले रसुवा, नुवाकोटसहित विभिन्न जिल्लामा ठूलो मानवीय क्षति पुर्याएको छ भने अझै पनि धेरै व्यक्ति सम्पर्कविहीन रहेको सरकारी तथ्याङ्कले देखाएको छ।