विपतको समयमा मनोरञ्जन नगर्ने भन्दै चलचित्रको प्रदर्शन स्थगित

1.8k Shares

काठमाडौँ । भोटेकोशी–त्रिशूली बाढीपछिको असहज परिस्थितिलाई ध्यानमा राख्दै प्रदर्शनको तयारीमा रहेका तीन नेपाली चलचित्रले आफ्नो पूर्वनिर्धारित प्रदर्शन मिति सारेका छन् ।

निर्माण पक्षले देश शोकमा रहेका बेला चलचित्र प्रदर्शन तथा मनोरञ्जनात्मक कार्यक्रम गर्नु उचित नहुने भन्दै प्रदर्शन स्थगित गर्ने निर्णय गरेका हुन् ।

‘बाः एक योद्धा’को प्रदर्शन मङ्सिरमा

भदौ १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र  ‘बाः एक योद्धा’ ले प्रदर्शन स्थगित गर्दै नयाँ मिति घोषणा गरेको छ । आर्टिस्टिक इन्टरटेन्मेन्टले जारी गरेको विज्ञप्तिमा विपत्को समयमा सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित चलचित्र प्रदर्शन गर्नु उपयुक्त नभएको उल्लेख छ ।

“चलचित्र समाजको ऐना मात्र नभएर यो मानवीय संवेदनाको संवाहक पनि हो । देशको एउटा भूगोल अकल्पनीय अवस्थामा पुगेको समयमा चलचित्र प्रदर्शन गर्नु उपयुक्त छैन,” विज्ञप्तिमा भनिएको छ ।

निर्माता वसन्त लम्सालले चलचित्र अब मङ्सिर २४ गते बिहीबारदेखि प्रदर्शनमा आउने जानकारी दिनुभएको छ । यसैबीच, ‘बाः एक योद्धा’ परिवारले विपत् प्रभावितको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई लाख एक हजार रुपियाँ सहयोग गरेको छ ।

‘ककाकिकी’ पनि तीन महिनापछि प्रदर्शन हुने

भदौ १९ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र  ‘ककाकिकी’ ले पनि आफ्नो प्रदर्शन मिति सारेको छ । माया इन्टरटेनमेन्ट स्टुडियोले निर्माण गरेको चलचित्र अब मङ्सिर ११ गतेदेखि प्रदर्शन हुने जनाएको छ ।

निर्माता तथा निर्देशक श्रद्धा प्रसाईंले देश शोकमा रहेको संवेदनशील अवस्थामा हास्यप्रधान चलचित्र प्रदर्शन तथा मनोरञ्जनात्मक कार्यक्रम गर्नु उचित नहुने बताउनुभयो ।

“हामीले चलचित्रको प्रचारप्रसार रोक लगाएका छौँ, अब चलचित्र तीन महिनापछि मात्र प्रदर्शन हुने छ,” उहाँले भन्नुभयो । उहाँले यस्तो अवस्थामा हाँस्ने, हँसाउनेलगायतका मनोरञ्जनका कुनै पनि कार्यक्रम गर्ने कल्पनासम्म पनि गर्न नसक्ने बताउनुभयो ।

“हाम्रो चलचित्र ‘ककाकिकी’को प्रदर्शन तथा सम्पूर्ण प्रचारप्रसारका गतिविधि तत्कालका लागि स्थगित गर्ने निर्णय गरेका छौँ,” उहाँले भन्नुभयो ।

‘ककाकिकी’मा बिक्की अग्रवाल र श्रद्धा प्रसाईंको संयुक्त निर्देशन रहेको छ । चलचित्रमा गौरी मल्ल, तृप्ति नाडकर, रेखा थापा, महेश त्रिपाठी, दिया मास्के, शिशिर वाङ्देल, प्रकाश घिमिरे, माओत्से गुरुङ, रेअर राई, सुवर्ण थापा, सुभाष गजुरेल र मनोज गजुरेललगायत कलाकारको अभिनय छ ।

‘माया भनेकै यस्तो होला’ तिहारमा आउने

यसैगरी, भदौ २६ गते प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘माया भनेकै यस्तो होला’ ले पनि प्रदर्शन स्थगित गर्दै नयाँ मिति घोषणा गरेको छ । रेखा थापा निर्देशित चलचित्र दिया एन्ड अमु फिल्म्सको निर्माण रहेको छ ।

निर्देशक थापाले देश शोकमा रहेका बेला मनोरञ्जनात्मक चलचित्र प्रदर्शन गर्नु उचित नदेखिएकाले अहिलेलाई प्रदर्शन स्थगित गरिएको बताउनुभयो । उहाँका अनुसार चलचित्र अब तिहारको अवसर पारेर कात्तिक २० गतेदेखि प्रदर्शनमा आउनेछ ।

भोटेकोशी–त्रिशूली बाढीपछि देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको अवस्थामा चलचित्र निर्माण पक्षले प्रदर्शनभन्दा मानवीय संवेदनालाई प्राथमिकता दिएका हुन्।

सम्बन्धित समाचार