काठमाडौँ । भोटेकोशी नदीको बाढीले नुवाकोटमा ठूलो मानवीय क्षतिसँगै किसानको पशुधनसमेत बगाएको छ। बाढी गएको एक सातापछि पनि प्रभावित किसान पशुधन गुमाएको पीडा, अनिश्चित भविष्य र पुनर्स्थापनाको चिन्तामा छन्।
नेपाल भेटेरिनरी एसोसिएसनको छ सदस्यीय टोलीले एक सातासम्म प्रभावित क्षेत्रमा पुगेर पशुधनको क्षतिको अवस्था अध्ययन गरेको थियो। टोलीका अनुसार नुवाकोटमा खाली गोठ र सुँगुरपालन फार्मका भग्नावशेष मात्र बाँकी छन्। हजारौँ कुखुरा हुर्काइएका व्यावसायिक फार्म माटो र ढुङ्गाको थुप्रोमा परिणत भएका छन्।
प्रारम्भिक विवरणअनुसार नुवाकोटमा पाँच सयभन्दा धेरै भैँसी, एक हजार पाँच सय सुँगुर तथा बङ्गुर र एक लाख ५० हजार कुखुरा बाढीले बगाएको छ। तीमध्ये अधिकांश पशुपन्छी बाढीको तीव्र वेगले बगाएकाले जीवित उद्धारको सम्भावना नरहेको टोलीको निष्कर्ष छ।
विदुर नगरपालिका र त्रिशूली आसपासका क्षेत्रमा धेरै किसानले ऋण लिएर व्यावसायिक पशुपालन थालेका थिए। उनीहरूका लागि पशुधन केवल सम्पत्ति नभई परिवारको जीवन धान्ने मुख्य आधार थियो। तर, केही घण्टाको बाढीले बर्सौंको मेहनत र लगानी समाप्त गरिदिएको छ।
धेरै किसान अहिले राहत शिविर वा आफन्तको घरमा आश्रित छन्। गोठ छैन, पशु छैन र आम्दानीको स्रोतसमेत छैन। यस्तो अवस्थामा तत्काल राहतसँगै पुनः व्यवसाय सुरु गर्न सहयोग आवश्यक रहेको भेटेरिनरी एसोसिएसनको निष्कर्ष छ।
बाढीले त्रिशूली नदीमाथिको पुल बगाएपछि नदीपारिका बस्ती पूर्ण रूपमा सम्पर्कविहीन बनेका छन्। त्यहाँका किसान पशु उपचार सेवाबाट समेत वञ्चित हुने अवस्था सिर्जना भएको छ।
औषधी अभाव भएको सूचना पाएपछि नेपाल भेटेरिनरी एसोसिएसनले जोखिम मोलेर तुइनमार्फत अत्यावश्यक भेटेरिनरी औषधी नदीपारि पठाउने व्यवस्था मिलाएको थियो। यस घटनाले विपत्का बेला पशु स्वास्थ्यसेवा पनि मानव स्वास्थ्यसेवा जत्तिकै महत्वपूर्ण हुने तथ्य उजागर गरेको पशु चिकित्सक डा. सुजाता अधिकारीले बताउनुभयो।
बाढीले पशुधन नष्ट गरेपछि अर्को ठूलो चुनौती मृत पशुको व्यवस्थापन बनेको छ। खुला स्थानमा रहेका पशुका मृत शरीरबाट विभिन्न सङ्क्रामक रोग फैलिने जोखिम रहेको चिकित्सकहरूले बताएका छन्। दूषित पानी, दुर्गन्ध र रोगजन्य जीवाणुका कारण मानव स्वास्थ्यसमेत प्रभावित हुन सक्छ।
नेपाल भेटेरिनरी एसोसिएसनले पशुसेवा कार्यालय नुवाकोटलाई औषधी तथा फिड सप्लिमेन्ट हस्तान्तरण गरेको छ। विदुर नगरपालिकामार्फत बाढीपीडितका लागि खाद्यान्नलगायत राहत सामग्रीसमेत उपलब्ध गराइएको छ। तर, राहतले मात्र समस्या समाधान हुने अवस्था छैन।
एसोसिएसनका पूर्वअध्यक्ष डा. शीतलकाजी श्रेष्ठले पशुधन गुमाएका किसानलाई सहुलियत ऋण, अनुदानमा पशु वितरण, पशु बिमा दाबीको सहजीकरण, निःशुल्क स्वास्थ्यसेवा तथा व्यवसाय पुनर्स्थापना कार्यक्रम आवश्यक रहेको बताउनुभयो। त्यसो गर्न नसकिए हजारौँ परिवार गरिबीको चक्रमा फस्न सक्ने उहाँको भनाइ छ।