राज्यका निकाय अलमलमा छन्, संकेत राम्रो देखिएका छैनन् : प्रचण्ड

1.5k Shares

काठमाडौँ । ने.क.पा. संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढीपहिरो प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत कार्य प्रभावकारी हुन नसकेको भन्दै सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनले राज्यका निकायहरू अलमलमा परेको र पछिल्ला गतिविधिका संकेत राम्रो नदेखिएको बताएका छन्।

प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले विपद्को पहिलो दिन प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता देखिए पनि त्यसपछिका दिनमा सरकारको काम गर्ने शैली र कार्यसम्पादनमा फरक देखिएको बताए। उनले सरकारको प्रारम्भिक सक्रियताबाट आफूहरूमा आशा पलाएको भए पनि पछिल्लो अवस्थाले निराश बनाएको उल्लेख गरे।

प्रचण्डले खोज तथा उद्धार कार्यमा ढिलाइ हुँदा धेरै मानिसको ज्यान जोगाउन सकिने अवस्था गुमेको दाबी गरे। उनका अनुसार समयमै उद्धार हुन सकेको भए अझै धेरै नागरिकलाई बचाउन सकिन्थ्यो।

उनले भने, “समयमै उद्धार भएको भए धेरै मानिसको ज्यान जोगाउन सकिन्थ्यो। सरकारको खोज तथा उद्धार कार्यमा कमजोरी देखिएको छ।”

प्रचण्डले सरकारको आलोचना गर्नुको उद्देश्य दोषारोपण मात्र नभई आगामी दिनमा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने रहेको बताए। उनले राज्यका सबै निकायबीच समन्वय आवश्यक रहेको र प्रभावित नागरिकलाई राहत तथा उद्धारमा कुनै ढिलाइ गर्न नहुनेमा जोड दिए।

यसैगरी, उनले विपद्का बेला सुरक्षाकर्मीको परिचालन मात्र पर्याप्त नहुने भन्दै स्थानीय नागरिकको सहभागिता र जनपरिचालनलाई पनि प्राथमिकता दिनुपर्ने बताए। उद्धार तथा राहत कार्यमा राज्यका संयन्त्र र जनताको संयुक्त प्रयास आवश्यक रहेको उनको भनाइ थियो।

प्रचण्डले सरकारलाई खोज, उद्धार र राहत वितरणको कामलाई गम्भीरतापूर्वक अघि बढाउन आग्रह गरे। उनले प्रभावित क्षेत्रमा राज्यको उपस्थिति प्रभावकारी रूपमा देखिनुपर्ने र पीडित नागरिकलाई तत्काल आवश्यक सहयोग उपलब्ध गराउनुपर्ने बताए।

बाढीपछि विभिन्न क्षेत्रमा उद्धार कार्य जारी रहे पनि कतिपय स्थानमा पहुँचको समस्या, सुरुङभित्र फसेका कामदारको उद्धारमा कठिनाइ तथा बेपत्ता नागरिकको खोजी चुनौतीपूर्ण बनेको छ। यस्तो अवस्थामा सरकार, सुरक्षा निकाय र उद्धार टोलीबीच थप समन्वय आवश्यक रहेको बताइएको छ।

सम्बन्धित समाचार