तेहरान । इरानले रणनीतिक रूपमा महत्वपूर्ण स्ट्रेट अफ होर्मुज बाहिर नयाँ ‘निषेधित क्षेत्र’ घोषणा गर्ने तयारी गरेको छ। उक्त क्षेत्रमा प्रवेश गरी होर्मुज पार गर्न खोज्ने पानीजहाजलाई प्रतिबन्ध सूचीमा राख्ने चेतावनी इरानले दिएको छ।
इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का प्रमुख मोहसेन रेजाईले आगामी केही दिन वा साताभित्र नयाँ क्षेत्र घोषणा गरिने बताएका छन्। उनका अनुसार क्षेत्र अमेरिकी नौसैनिक नाकाबन्दी सुरु हुने सीमाबाट होर्मुजतर्फ र फारसको खाडीतर्फ विस्तार हुनेछ।
इरानले भने उक्त निषेधित क्षेत्रको निश्चित सीमा भने सार्वजनिक गरेको छैन। रेजाईले उक्त क्षेत्रमा प्रवेश गर्ने र होर्मुज पार गर्ने उद्देश्य देखिएका कुनै पनि जहाजलाई इरानी प्रतिबन्ध सूचीमा राखिने बताएका छन्।
अमेरिकी सेनाका अनुसार इरानी बन्दरगाह र तेल निर्यातमाथि दबाब दिन सञ्चालन गरिएको नाकाबन्दीमा २० भन्दा बढी युद्धपोत परिचालित छन्। आइतबारसम्म ९२ व्यापारिक पानीजहाजको मार्ग परिवर्तन गरिएको र तीनवटा जहाजलाई सञ्चालन गर्न नसक्ने बनाइएको अमेरिकी पक्षको दाबी छ।
यसैबीच, इरानी सञ्चारमाध्यमले होर्मुज प्रवेश गर्न खोजेको एउटा अमेरिकी मानवरहित पानीजहाजमाथि आक्रमण गरेको दाबी गरेका छन्। अमेरिकी सेनाले भने उक्त दाबीलाई अस्वीकार गर्दै पूर्ण रूपमा झुटो भएको जनाएको छ।
अमेरिका र इरानबीचको तनाव चर्किँदै जाँदा होर्मुज विश्वव्यापी तेल आपूर्तिका लागि थप संवेदनशील बन्दै गएको छ। पछिल्लो घटनाक्रमले युद्ध थप विस्तार हुने र विश्व ऊर्जा बजारमा दबाब बढ्ने जोखिमसमेत बढाएको छ।