सुदूरपश्चिममा भारी वर्षा, बाढी–पहिरोको जोखिम बढ्यो

1k Shares

धनगढी । सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा लगातार भइरहेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ। वर्षासँगै बाढी तथा पहिरोको जोखिम बढेपछि स्थानीय प्रशासन र सरोकारवाला निकायले सतर्कता अपनाउन आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार डडेल्धुरा र कञ्चनपुरमा पछिल्लो २४ घण्टामा उल्लेख्य वर्षा भएको छ। कञ्चनपुरको हनुमाननगर वर्षा मापन केन्द्रमा १४१.४ मिलिमिटर तथा डडेल्धुराको गाईबान्ने केन्द्रमा १२७.८ मिलिमिटर वर्षा मापन गरिएको छ। २४ घण्टामा १०० देखि २०० मिलिमिटरसम्म वर्षा हुनुलाई धेरै भारी वर्षाका रूपमा लिइन्छ।

लगातारको वर्षाले बाजुराको जनजीवनमा बढी असर परेको छ। बाढी र पहिरोका कारण जिल्लाका विभिन्न स्थानमा दर्जनौँ घरमा क्षति पुगेको छ भने सडक तथा विद्युत् सेवा पनि प्रभावित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जिल्ला प्रहरी प्रमुख डीएसपी शैलेश्वरी बोहराका अनुसार गौमुल गाउँपालिका र बडीमालिका नगरपालिकाका विभिन्न क्षेत्रमा वर्षाका कारण बढी क्षति पुगेको छ। बाढी तथा पहिरोका कारण जिल्ला सदरमुकाम मार्तडी जोड्ने साँफे–मार्तडी सडकसमेत अवरुद्ध भएको छ।

वर्षाका कारण स्थानीय खोला तथा नदीमा पानीको बहाव बढेकाले तटीय तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन आग्रह गरिएको छ। यसअघि पनि बाजुरामा भारी वर्षापछि बाढी तथा पहिरोले विभिन्न क्षेत्रमा क्षति पुर्‍याएको विवरण सार्वजनिक भएको थियो।

जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाका अनुसार सुदूरपश्चिममा आगामी तीन दिनसम्म वर्षाको सम्भावना कायमै रहनेछ। वर्षा जारी रहने भएकाले पहाडी क्षेत्रमा पहिरो तथा नदी–खोलामा आकस्मिक बाढीको जोखिम थप बढ्न सक्ने भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरिएको छ।

सम्बन्धित समाचार