विपद्मा एकताबद्ध हुन राष्ट्रपति पौडेलको आह्वान, अन्तर्राष्ट्रिय समुदायसँग मागे जलवायु न्याय

1k Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपद्को सामना गर्न राष्ट्रिय एकता र सहकार्य आवश्यक रहेको बताएका छन्। पछिल्लो समय नेपालमा बाढीपहिरोबाट ठूलो जनधनको क्षति भइरहेका बेला उनले विपद्को सामना गर्न सबै पक्ष एकजुट हुन आह्वान गरेका हुन्।

राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली तथा विकासोन्मुख मुलुकले असमान रूपमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय समुदायसँग जलवायु न्यायको माग गरेका छन्।

उनले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको असर भने गम्भीर रूपमा भोग्नुपरेको बताए। हिमाली क्षेत्रमा तापक्रम वृद्धि, हिमताल विस्फोट, बाढीपहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिम बढ्दै गएको भन्दै विकसित राष्ट्रहरूले आफ्नो जिम्मेवारीअनुसार सहयोग गर्नुपर्नेमा उनले जोड दिएका छन्।

राष्ट्रपतिले विपद्का बेला उद्धार, राहत र पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन सरकारका सबै निकाय, राजनीतिक दल, नागरिक समाज तथा आम नागरिकबीच सहकार्य आवश्यक रहेको बताए।

उनले विपद्पछि प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्नुका साथै दीर्घकालीन पुनर्निर्माण र पुनःस्थापनामा समेत विशेष ध्यान दिनुपर्ने उल्लेख गरेका छन्।

नेपालले जलवायु परिवर्तनका कारण भोगिरहेको क्षतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउँदै जलवायु वित्त, प्रविधि हस्तान्तरण तथा विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग बढाउनुपर्ने राष्ट्रपति पौडेलको धारणा छ।

राष्ट्रपति पौडेलले विपद्को कठिन समयमा प्रभावित नागरिकलाई राज्य र समाज एक्लै नछोड्ने विश्वास दिलाउँदै आपसी सहयोग, सद्भाव र राष्ट्रिय एकताबाट वर्तमान चुनौतीको सामना गर्नुपर्नेमा जोड दिएका छन्। 

सम्बन्धित समाचार