जेनजीलाई गौतमको सन्देश : एकजुट हुनुस्, सरकार तपाईंहरूसँगै छ

1.4k Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनका शहीद, घाइते तथा पीडितका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् ।

जेनजी शहीद दिवसका अवसरमा जेनजी शहीद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा उनले वर्तमान सरकारमाथि विश्वास राख्न आग्रह गरिन् । आन्दोलनका माग सम्बोधन गर्न मन्त्री र सांसदहरूबीच दैनिकजसो छलफल भइरहेको उनको भनाइ थियो ।

गौतमले भदौ २३ गते नागरिकमाथि गोली चलेको जस्तो घटना फेरि दोहोरिन नहुने बताइन् । उनले शहीद परिवार, घाइते तथा आन्दोलनसँग जोडिएका सबैलाई एकजुट भएर अघि बढ्न आग्रह गरिन् ।

‘एकआपसमै लड्न थाल्यौँ, दोषारोपण गर्न लाग्यौँ भने विरोधीहरूले त्यसको फाइदा उठाउँछन्,’ उनले भनिन् । आन्दोलनसँग जोडिएका सबैले एकअर्कालाई धैर्य, साहस र हिम्मत दिनुपर्नेमा उनले जोड दिइन् ।

मन्त्री गौतमले सरकार गठन भएको करिब पाँच महिना मात्रै भएकाले सरकार सञ्चालन सहज नभएको बताइन् । प्रतिनिधिसभामा पर्याप्त संख्या भए पनि कानुन निर्माणलगायतका प्रक्रियामा संवैधानिक संरचनाका कारण चुनौती रहेको उनको भनाइ थियो ।

उनले जेनजीका माग पूरा गर्न सरकारले व्यवस्थित र सही ढङ्गले काम गरिरहेको दाबी गरिन् । ‘तपाईंहरूले भनेका हरेक सपनाहरू, हाम्रा सहिदले देखेका हरेक सपनाहरू, घाइते साथीहरूले देख्नुभएका हरेक सपनाहरू पूरा गर्नको लागि यो सरकार पूर्ण रूपमा प्रतिबद्ध छ,’ उनले भनिन् ।

गौतमले जनताको आवाज सुन्न सरकार तयार रहेको बताउँदै धैर्य राखे सबै कुरा ठीक ठाउँमा आउने विश्वास व्यक्त गरिन् ।

सम्बन्धित समाचार