कर्णाली । कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकखण्ड पुनः अवरुद्ध भएको छ । दैलेखको दुल्लु नगरपालिका–१ स्थित भम्लु खोलामा गए राति माथिबाट सुक्खा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो ।
सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख श्रवणकुमार महताराका अनुसार राजमार्गअन्तर्गत कालीकोटको खाँडाचक्र नगरपालिका–पिली, शुभकालिका गाउँपालिकाको गगने खोला र एस मोडमा खसेको पहिरोका कारण भदौ २० गतेदेखि बन्द सडक मंगलबार दिउँसोदेखि सञ्चालनमा आएको थियो । तर, दैलेखमा सुक्खा पहिरो खसेपछि राजमार्ग पुनः अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
प्रहरीका अनुसार बुधबार बिहान प्रहरी चौकी तल्लो डुङ्गेश्वरबाट प्रहरी टोली भम्लु खोलामा खटिएको छ । सडक जतिसक्दो छिटो खुलाएर आवागमन सञ्चालन गर्न सडक डिभिजन कार्यालय सुर्खेतसँग आवश्यक समन्वय गरी पहिरो पन्छाउने काम सुरु गरिएको छ ।
सडक अवरोधका कारण हुम्ला, मुगु, जुम्ला र कालीकोटबाट सुर्खेत, नेपालगन्ज तथा काठमाडौँतर्फ जाने यात्रुहरू प्रभावित भएका छन् । राजमार्ग अवरुद्ध भएपछि यात्रुहरूलाई आवतजावतमा सास्ती भएको जनाइएको छ ।