‘बोलेको कुराको जिम्मेवारी लिन्छु, नबोलेको कुरा भन्न सक्दिनँ’ : कानुनमन्त्री गौतम

967 Shares

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रियसभाले कानुन निर्माणमा असहयोग गरेको आफूले नभनेको स्पष्टीकरण दिएकी छन्।

बुधबार राष्ट्रियसभाको बैठकमा बोल्दै मन्त्री गौतमले २३ भदौमा जेन–जी परिवारले आयोजना गरेको कार्यक्रममा आफूले तथ्यभन्दा बाहिर गएर कुनै अभिव्यक्ति नदिएको दाबी गरिन्।

जेन–जी स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभामा आफ्नो दल राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधित्व भए पनि राष्ट्रियसभामा प्रतिनिधित्व नभएकाले कानुन निर्माणमा समस्या भइरहेको आशयको अभिव्यक्ति दिएकी थिइन्। उनको उक्त अभिव्यक्तिप्रति राष्ट्रियसभाका सदस्यहरूले बैठकको शून्य समयमा आपत्ति जनाएका थिए।

त्यसपछि स्पष्टीकरण दिँदै मन्त्री गौतमले प्रतिनिधिसभामा दुईतिहाइ बहुमत हुँदैमा मात्र कानुन निर्माण सहज नहुने बताइन्। आफूले कानुन निर्माणको प्रक्रिया जटिल रहेको विषय स्पष्ट पार्न खोजेको उनको भनाइ थियो।

उनले राष्ट्रियसभाले कानुन बनाउन असहयोग गरेको आफूले नबताएको स्पष्ट पार्दै समाचार तथा सामाजिक सञ्जालमा आफ्नो भनाइ तोडमोड भएर प्रस्तुत भएको दाबी गरिन्। ‘बोलेको कुराको जिम्मेवारी लिन्छु, नबोलेको विषयमा मैले भन्न सक्दिनँ’ भन्ने आशयमा उनले आफूले बोलेको कुराबाट कसैलाई चोट पुगेको भए क्षमा मागिन्।

मन्त्री गौतमले आगामी दिनमा अभिव्यक्ति दिँदा थप संवेदनशील हुने प्रतिबद्धतासमेत जनाएकी छन्। यो स्पष्टीकरणसँगै सरकारको कानुन निर्माण प्रक्रियामा प्रतिनिधिसभा र राष्ट्रियसभाबीचको भूमिकाबारे उठेको बहसलाई स्पष्ट पार्ने प्रयास भएको देखिएको छ।

 
सम्बन्धित समाचार