सिंहदरबारकै पुनर्निर्माण सुस्त, बाढीपीडितले कसरी पत्याउने सरकारलाई ? : विपिन आचार्य

1.4k Shares

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्रीसमेत रहेका सांसद विपिनकुमार आचार्यले सिंहदरबार र संघीय संसद्को पुनर्निर्माणको गति सुस्त भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै आचार्यले जेन–जी आन्दोलनका क्रममा क्षति पुगेका सरकारी संरचनाको पुनर्निर्माण अपेक्षित गतिमा अघि बढ्न नसकेको बताए।

उनले राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्कै पुनर्निर्माण सुस्त भइरहेका बेला बाढीपहिरोबाट प्रभावित रसुवा, नुवाकोटलगायत क्षेत्रका नागरिकले आफ्नो पुनर्निर्माण प्रभावकारी रूपमा अघि बढ्नेमा कसरी विश्वास गर्ने भन्ने प्रश्न गरे।

आचार्यले निजी क्षेत्रले जेन–जी आन्दोलनका क्रममा क्षतिग्रस्त व्यापारिक केन्द्रहरू तीव्र गतिमा पुनर्निर्माण गरिसकेको उल्लेख गर्दै सरकारी संरचनाको पुनर्निर्माणमा भने ढिलाइ भएको बताए।

‘२४ भदौको विध्वंसले खरानी बनेका ती व्यापारिक केन्द्रहरू आज थप बलियो र संरचनागत तरिकाले उठिसकेका छन् । निजी क्षेत्रको त्यो ऊर्जा देखेर मलाई गर्व लाग्छ,’ उनले भने।

तर, सरकारी संरचनाको पुनर्निर्माणको गति भने अपेक्षाकृत सुस्त रहेको उनको भनाइ थियो। उनले आफूले नयाँ भवनबाट बजेट वक्तव्य आउने अपेक्षा गरेको भए पनि अहिले पनि अस्थायी भवनबाटै प्रतिनिधिसभामा आफ्नो धारणा राख्नुपरेको बताए।

‘यो पालिको बजेट वक्तव्य नयाँ भवनबाट आउने कुरा सुनेको म आज पनि आफ्नो कुरा यही अस्थायी भवनबाट आफ्ना कुराहरू राखिराखेको छु,’ आचार्यले भने। उनले सिंहदरबार र संसद्को पुनर्निर्माणमै ढिलाइ भइरहेका बेला बाढी तथा विपद्बाट क्षतिग्रस्त नागरिकका घर, बस्ती तथा संरचनाको पुनर्निर्माण कसरी प्रभावकारी रूपमा अघि बढ्ला भन्ने प्रश्न उठाए।

‘राज्यको मुटु मानिने सिंहदरबार र सार्वभौम संसद्कै निर्माण गति यति धेरै सुस्त हुँदै गर्दा रसुवा र नुवाकोटका नागरिकले पुनर्निर्माण सही दिशामा हुन्छ भनेर कसरी विश्वास गर्ने ?’ उनले प्रश्न गरे।

आचार्यले सरकारी पुनर्निर्माणलाई गति दिनुपर्ने र विपद्बाट प्रभावित नागरिकमा राज्यप्रतिको भरोसा कायम गर्न पुनर्निर्माणको काम प्रभावकारी रूपमा अघि बढाउनुपर्ने संकेत गरेका छन्।

सम्बन्धित समाचार