‘प्रधानमन्त्रीय शासन सल्लाहकारको व्यवस्थामा बदलियो’ : अमरेश सिंह

1.5k Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले सरकार संविधानअनुसार सञ्चालन नभएको आरोप लगाएका छन्। उनले प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारको भूमिकाप्रति प्रश्न उठाउँदै सरकारको निर्णय प्रक्रिया सल्लाहकारकेन्द्रित बनेको दाबी गरेका हुन्।

बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सिंहले संसदीय व्यवस्थामा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने भए पनि अहिले सरकार सञ्चालनको शैली परिवर्तन भएको आरोप लगाए।

‘हाम्रो संसदीय व्यवस्थामा प्रधानमन्त्रीय शासन व्यवस्था छ । तर, प्रधानमन्त्रीय शासन व्यवस्था सल्लाहकारको व्यवस्थामा चेन्ज भएको छ । यो संविधानको कुन दफामा छ, कुन ऐनमा छ मैले बुझ्न सकेको छैन,’ उनले भने।

सिंहले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेनप्रति संकेत गर्दै उनका गतिविधिबारे समेत प्रश्न उठाए। उनले दिल्लीमा भारतीय जासुसी संस्थाको निमन्त्रणामा भ्रमण गरेको र दिल्लीस्थित लिला प्यालेस होटलमा बसेको दाबी गर्दै यसबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए।

‘एउटा जासुसी संस्थालाई भेट्न प्रधानमन्त्रीका सल्लाहकार जान्छन् । त्यहाँ दिल्लीको लिला प्यालेस होटलको दोस्रो फ्लोरमा बस्छन्,’ सिंहले भने। सरकार सञ्चालनको शैलीप्रति व्यंग्य गर्दै उनले ‘देवानन्दको गाइड फिल्मजस्तै’ सरकार चलिरहेको टिप्पणी गरे। ‘एउटा सल्लाहकार नै यो सरकारको नाश गर्न काफी छ,’ उनले भने।

सिंहले सरकारको प्रशासनिक तथा राजनीतिक केन्द्र सिंहदरबार हुनुपर्नेमा निर्णय प्रक्रिया अन्यत्रबाट सञ्चालन भइरहेको आरोप पनि लगाए। ‘उहाँको सल्लाहकार हार्वर्ड, अक्सफोर्ड र क्याम्ब्रिज पढेको होइन होला । सरकारको केन्द्र सिंहदरबार हुन्छ भन्ने मैले बुझेको छु । तर, सरकारको केन्द्र ज्वागल बनेको छ । हुकुमी शासन चलिरहेको छ,’ उनले भने।

उनले सरकार सञ्चालनमा पारदर्शिता, संवैधानिक प्रक्रिया र संस्थागत जिम्मेवारी कायम गर्नुपर्नेमा जोड दिए। सिंहले वर्तमान सरकारले गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षतामाथि समेत प्रहार गरिरहेको आरोप लगाए। उनले सरकारको कार्यशैली र निर्णय प्रक्रियाबारे संसद्मा गम्भीर समीक्षा आवश्यक रहेको धारणा राखे।

सम्बन्धित समाचार