उद्योगीलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन’ भनेकी मन्त्री यादवले दिइन् राजीनामा

1.1k Shares

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन् । मन्त्री यादवले बिहीबार प्रधानमन्त्री वालेन्द्र शाहलाई भेटेर राजीनामा बुझाएकी हुन् ।

बजारमा लामो समयदेखि देखिएको एलपी ग्यास अभाव समाधान गर्न नसकेको विषयमा बुधबार सार्वजनिक रूपमा दिएको अभिव्यक्तिपछि मन्त्री यादव विवादमा तानिएकी थिइन् । उनको अभिव्यक्तिप्रति उद्योगी–व्यवसायी तथा निजी क्षेत्रले समेत आपत्ति जनाएका थिए ।

विवादित अभिव्यक्ति दिएको २४ घण्टा नबित्दै मन्त्री यादवले राजीनामा दिएकी हुन् । उनको राजीनामालाई सत्तापक्षभित्रको दबाब र जेन–जी फ्रन्टको असन्तुष्टिसँग समेत जोडेर हेरिएको छ ।

बुधबार उद्योग, आपूर्ति तथा श्रम र सामाजिक सुरक्षा समितिको बैठकमा मन्त्री यादवले ग्यासको आपूर्ति सहज हुन नसक्नुमा उद्योगी–व्यवसायी र कर्मचारीबीचको साँठगाँठ प्रमुख कारण रहेको आरोप लगाएकी थिइन् ।

समितिको बैठकमा सांसदहरूले विगत ६ महिनादेखि बजारमा ग्यासको अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका थिए । नेपाल आयल निगमले विगतको तुलनामा बढी ग्यास आपूर्ति भइरहेको दाबी गरिरहे पनि बजारमा अभाव किन कायम छ भन्ने प्रश्न सांसदहरूले उठाएका थिए ।

जवाफमा मन्त्री यादवले आफूले समस्या समाधानका लागि प्रयास गरे पनि कर्मचारी र उद्योगी–व्यवसायीका कारण काम गर्न नसकेको बताएकी थिइन् । उनले उद्योगी–व्यवसायीलाई कडा रूपमा नियमन नगरेसम्म बजारमा ग्यासको सहज आपूर्ति हुन नसक्ने दाबी गरेकी थिइन् ।

‘उद्योगी, व्यवसायीलाई पाता नफर्काएसम्म बजारमा ग्यासको सहजता हुँदैन । अरू देशमा ३ वटा उद्योग हुँदा हुने तर हाम्रोमा ५८ वटा उद्योग हुँदा पनि ग्यासको सहज आपूर्ति हुन सकिरहेको छैन । किन यस्तो भइरहेको छ ?’ उनले भनेकी थिइन् ।

मन्त्री यादवले आफूले काम गर्न खोज्दा कर्मचारीहरूले ऐन–नियमको कारण देखाउने गरेको र ऐन–नियम परिवर्तन गर्न खोज्दा उद्योगी–व्यवसायीको सहमति आवश्यक पर्ने बताउने गरेको भन्दै कर्मचारीप्रति समेत असन्तुष्टि जनाएकी थिइन् ।

उनको यस्तो अभिव्यक्तिपछि निजी क्षेत्र तथा उद्योगी–व्यवसायीले विरोध जनाएका थिए । ग्यास आपूर्ति व्यवस्थापनमा देखिएको समस्या समाधान गर्नुको सट्टा उद्योगीहरूलाई दोषारोपण गरेको भन्दै उनको अभिव्यक्तिको आलोचना भएको थियो ।

ग्यास अभाव समाधान गर्न नसकेको र विवादित अभिव्यक्ति दिएको विषयमा सरकारभित्रै दबाब बढेपछि मन्त्री यादवले बिहीबार प्रधानमन्त्री शाहसमक्ष राजीनामा बुझाएकी हुन् । मन्त्री यादवको राजीनामासँगै रिक्त उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी अब कसलाई दिइन्छ भन्ने विषयमा समेत चासो बढेको छ ।

सम्बन्धित समाचार