एमाले पुनर्गठन कार्यदलको बैठक सुरु

1.7k Shares

काठमाडौं । नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनमाथि छलफल गरी त्यसलाई अन्तिम रूप दिने तयारी गरिएको छ।

उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठित कार्यदलमा महासचिव शंकर पोखरेल सदस्यसचिव छन्। कार्यदललाई गत फागुन २१ गतेको निर्वाचन परिणामको समीक्षा गर्दै पार्टीको शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण तथा पुनर्गठनका विषयमा सुझावसहित प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिइएको थियो।

कार्यदलले सात प्रदेशसहित १३ गैरभौगोलिक स्थानबाट संकलन गरिएका सुझावलाई समेटेर प्रतिवेदन तयार गरेको हो। महासचिव पोखरेलले तयार पारेको मस्यौदा यसअघि नै कार्यदलका संयोजक थापालाई बुझाइसकिएको बताइएको छ।

तर उक्त प्रतिवेदनप्रति एमाले अध्यक्ष केपी शर्मा ओली असहमत रहेको नेताहरूले बताएका छन्। त्यसैले शुक्रबारको बैठकलाई प्रतिवेदनको अन्तिम स्वरूप तय गर्ने दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ।

कार्यदलको प्रतिवेदनमा पार्टीको पछिल्लो अवस्था, निर्वाचनमा भएको पराजय तथा संगठन सुदृढीकरणका विषयमा विभिन्न सुझाव समेटिएका छन्। बैठकबाट पारित हुने प्रतिवेदन आगामी केन्द्रीय कमिटी बैठकमा समेत छलफलका लागि प्रस्तुत हुने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार