नयाँदिल्ली । चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आगामी सेप्टेम्बर १२ र १३ मा भारत भ्रमणमा आउने भएका छन्। उनले नयाँदिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागिता जनाउनेछन्।
यो सी जिनपिङको सात वर्षपछि भारत भ्रमण हुनेछ। यसअघि उनी सन् २०१९ मा भारत आएका थिए। त्यसपछि भारत–चीन सम्बन्धमा सीमा विवाद र सन् २०२० को गलवान घटनाका कारण लामो समय तनाव देखिएको थियो।
भ्रमणका क्रममा सी र मोदीबीच द्विपक्षीय भेटवार्ता हुने अपेक्षा गरिएको छ। भेटमा भारत–चीन व्यापार, लगानी, सीमा व्यवस्थापन तथा दुई देशबीचको सम्बन्ध सुधारका विषयमा छलफल हुने सम्भावना छ।
पछिल्लो समय दुवै देशबीच सम्बन्ध सुधारका केही प्रयास अघि बढेका छन्। सीमा क्षेत्रमा तनाव घटाउने, प्रत्यक्ष उडान पुनः सञ्चालन गर्ने, भिसा प्रतिबन्ध सहज बनाउने तथा कैलाश मानसरोवर यात्रालाई पुनः सुरु गर्ने लगायतका कदम चालिएका छन्।
सीको भारत भ्रमणलाई भारत–चीन सम्बन्धमा लामो समयदेखि कायम तनाव कम गर्दै उच्चस्तरीय संवादलाई पुनः गति दिने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। यद्यपि दुई देशबीच विश्वासको कमी र सीमा तथा आर्थिक क्षेत्रमा रहेका मतभेद अझै चुनौतीका रूपमा कायम छन्।