काठमाडौं । नेपाली कांग्रेसका २५ जना नेताले पार्टीभित्र देखिएको विवाद समाधान गर्दै एकता कायम गर्न नेतृत्वसमक्ष अपिल गरेका छन्। उनीहरूले निर्धारित महाधिवेशनको कार्यतालिका स्थगित गरी पार्टीभित्र सहमतिको वातावरण बनाउन आग्रह गरेका छन्।
नेताहरूले पार्टीमा पछिल्लो समय देखिएको असन्तुष्टि र विवादलाई थप जटिल बनाउनुभन्दा आपसी संवाद र सहमतिबाट समाधान खोज्नुपर्ने बताएका छन्। त्यसका लागि महाधिवेशनसम्बन्धी प्रक्रिया केही समय स्थगित गरी शीर्ष नेतृत्वबीच तत्काल वार्ता सुरु गर्नुपर्ने उनीहरूको माग छ।
अपिलमा पार्टीको आन्तरिक एकता कमजोर हुँदा त्यसको असर संगठन र आगामी राजनीतिक गतिविधिमा समेत पर्ने उल्लेख गर्दै सबै पक्षलाई संयमित भएर अघि बढ्न आग्रह गरिएको छ।
उनीहरूले कांग्रेसलाई थप बलियो र एकताबद्ध बनाउन नेतृत्वले सबै पक्षको भावना समेट्नुपर्ने बताएका छन्। महाधिवेशन पार्टीलाई विभाजनतर्फ लैजाने माध्यम नभई संगठनलाई थप सुदृढ बनाउने अवसर बन्नुपर्नेमा उनीहरूको जोड छ।
नेताहरूले पार्टीभित्र देखिएका मतभेद समाधानका लागि संवाद, सहमति र समझदारीलाई प्राथमिकता दिन आग्रह गर्दै तत्काल वार्ताको वातावरण बनाउन नेतृत्वको ध्यानाकर्षण गराएका छन्।