काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी असोज १५ गतेसम्म नियमित रूपमा सञ्चालन गर्ने गरी सम्भावित कार्यतालिका तयार गरिएको छ। संघीय संसद् सचिवालयले विभिन्न विधेयक तथा संसदीय कामकारबाहीलाई प्राथमिकतामा राख्दै बैठक सञ्चालनको तयारी गरेको हो।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रतिनिधिसभाको आगामी बैठकका सम्भावित कार्यसूची तथा बैठक सञ्चालनसम्बन्धी विषयमा छलफल भएको छ। संसद् सचिवालयले तयार पारेको प्रस्तावअनुसार विभिन्न दिन बैठक राख्ने तयारी गरिएको छ।
बैठकहरूमा विभिन्न मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ सम्बन्धित मन्त्रीले दिने, विधेयकहरू प्रस्तुत गर्ने तथा समितिबाट आएका प्रतिवेदनमाथि छलफल र निर्णय गर्ने कार्यसूची समेटिने जनाइएको छ।
प्रतिनिधिसभामा पछिल्ला दिनमा विधेयक निर्माण तथा संसदीय कामकारबाहीलाई निरन्तरता दिइएको छ। संघीय संसद् सचिवालयका अनुसार बैठकहरूमा आर्थिक, श्रम, कानुन तथा अन्य विषयसँग सम्बन्धित विधेयक अघि बढाउने तयारी भइरहेको छ।
सम्भावित कार्यतालिकामाथि आवश्यक छलफलपछि अन्तिम कार्यसूची तय गरिनेछ। संसद् बैठकको मिति र कार्यसूचीमा आवश्यकताअनुसार परिवर्तन हुन सक्ने सचिवालयले जनाएको छ।