‘छिमेकमै भएका महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति शून्यप्रायः’ : ज्ञवाली

2.3k Shares

काठमाडौँ । ने.क.पा. (एमाले) का नेता तथा पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बदलिँदो विश्व शक्ति सन्तुलनका बीच नेपालको परराष्ट्र नीति अलगावको दिशातर्फ उन्मुख भएको टिप्पणी गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै ज्ञवालीले भारतको नयाँ दिल्लीमा भइरहेको ब्रिक्स शिखर सम्मेलन र केही समयअघि किर्गिस्तानको बिस्केकमा सम्पन्न सांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनलाई बदलिँदो विश्व शक्ति सन्तुलन र नयाँ आर्थिक बहावका महत्वपूर्ण दृष्टान्तका रूपमा व्याख्या गरेका छन्।

उनले अमेरिकी नेतृत्वमा रहेको विद्यमान विश्व प्रणाली र उदाउँदै गरेका नयाँ बहुपक्षीय संरचनाबीच नेपालले कित्ताकाट गरेर कुनै एकातर्फ ढल्किनु उचित नहुने बताएका छन्। तर यस्ता नयाँ संरचनाबाट नेपालले आफ्नो राष्ट्रिय हितअनुसार लाभ लिन सक्ने सम्भावनाबाट विमुख हुनु पनि गलत हुने उनको भनाइ छ।

‘ब्रिक्स र एससीओ बदलिँदो विश्व शक्ति सन्तुलन र नयाँ आर्थिक बहावका प्रतिनिधि दृष्टान्त हुन्’ भन्दै ज्ञवालीले नेपालले मुद्दागत आधारमा यस्ता संरचनासँग सम्बन्ध विस्तार गर्नुपर्ने धारणा राखेका छन्।

उनका अनुसार संयुक्त राष्ट्रसंघको प्रभावकारितामाथि प्रश्न उठिरहेको, असंलग्न आन्दोलन, जी–७७ प्लस चीन र एसियाली सहयोग संवादजस्ता बहुपक्षीय संरचनाहरू औपचारिकतामा सीमित हुँदै गएको तथा सार्क निष्क्रिय रहेको अवस्थामा नयाँ क्षेत्रीय तथा विश्वव्यापी संरचनाहरू नेपालका लागि उपयोगी हुन सक्छन्।

तर छिमेकी भारतमै भइरहेको ब्रिक्स शिखर सम्मेलन र केही साताअघि किर्गिस्तानमा भएको एससीओ शिखर सम्मेलनमा नेपालको उपस्थिति कमजोर देखिएको भन्दै उनले प्रश्न उठाएका छन्।

‘हामीले वास्ता गरेनौँ कि उनीहरूले उपेक्षा गरे, थाहा छैन,’ ज्ञवालीले लेखेका छन्। भारतको नयाँ दिल्लीमा सेप्टेम्बर १२ र १३ मा भइरहेको ब्रिक्स शिखर सम्मेलनमा सदस्य राष्ट्रका शीर्ष नेताहरू सहभागी छन्। सम्मेलनका क्रममा सदस्य राष्ट्रहरूले ‘नयाँ दिल्ली घोषणा’ सर्वसम्मत रूपमा पारित गरेका छन्। घोषणामा बहुपक्षीयता, विश्वव्यापी शासन प्रणालीमा सुधार, विकासशील मुलुकको भूमिका तथा अन्तर्राष्ट्रिय विवादको कूटनीतिक समाधानलगायत विषय समेटिएका छन्।

ज्ञवालीले पछिल्लो समय नेपालको परराष्ट्र नीति ‘दिग्भ्रम र अलगाव’ को दिशामा उन्मुख भएको दाबी गरेका छन्। प्रधानमन्त्रीको कूटनीतिक सक्रियतामाथि प्रश्न उठाउँदै उनले राष्ट्रिय हितसँग जोडिएका अन्तर्राष्ट्रिय विषयमा उच्च तहबाटै पहल हुनुपर्ने बताएका छन्।

विशेषगरी भोटेकोशी बाढीबाट सिर्जित विनाश र त्यसबाट नेपालले भोगेको क्षतिलाई अन्तर्राष्ट्रिय मञ्चमा प्रभावकारी रूपमा उठाउनुपर्ने उनको भनाइ छ।

उनले आगामी संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्रीको सहभागिता र त्यहाँ हुने सम्बोधनसँगै साइडलाइन भेटवार्तालाई समेत महत्वपूर्ण रूपमा लिनुपर्ने बताएका छन्। ती भेटवार्ताबाट नेपालले विपद्, जलवायु परिवर्तन, जलवायु न्याय तथा अन्तर्राष्ट्रिय सहयोगका विषयमा आफ्नो पक्ष प्रभावकारी रूपमा राख्नुपर्ने उनको संकेत छ।

‘महासभामा सम्बोधन गर्ने कुरा त छँदैछ, साइडलाइन बैठक बढी महत्वपूर्ण हुन्छन्,’ उनले लेखेका छन्, ‘त्यसको तयारी कस्तो छ, सार्वजनिक गरिएको छैन।’ ज्ञवालीले तीव्र रूपमा बदलिँदै गएको भूराजनीतिक परिस्थितिमा नेपालले निष्क्रिय वा अलगावमुखी नीति अपनाउँदा राष्ट्रिय हित सुरक्षित नहुने निष्कर्ष निकालेका छन्।

उनका अनुसार नेपालले अमेरिका, चीन, भारतलगायत कुनै पनि शक्तिको कित्तामा उभिनुभन्दा राष्ट्रिय हितलाई केन्द्रमा राखेर सबै बहुपक्षीय तथा क्षेत्रीय संरचनामा सक्रिय सहभागिता जनाउनुपर्ने आवश्यकता छ। ‘तीव्र रूपमा बदलिँदो भूराजनीतिक बहावका बीच अलगावको नीतिले नेपाललाई कुनै लाभ दिने छैन,’ उनले भनेका छन्।

807938390_10243803482853307_8939856620094241786_n.jpg807830460_10243803482773305_2252237742324808576_n.jpg

सम्बन्धित समाचार