प्रकाश दूतराजको ‘लाइनअप’ सार्वजनिक, अब ट्रयाक होइन ब्यान्डसहित प्रत्यक्ष प्रस्तुति

1.1k Shares

म्याग्दी । लोकगायक प्रकाश दूतराजले आफ्नो जन्मथलो म्याग्दीबाट लोकसंगीतमा नयाँ अभ्यासको सुरुआत गरेका छन् । उनले बेनीस्थित खुलामञ्चमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वमा तयार पारिएको ‘दूतराज प्रकाश एन्ड लाइनअप’ सार्वजनिक गरेका हुन् ।

म्याग्दी उद्योग वाणिज्य सङ्घले आयोजना गरेको कार्यक्रममा ब्यान्ड सार्वजनिक गर्दै दूतराजले नेपाली लोकसंगीतमा मौलिक बाजा र प्रत्यक्ष वाद्यवादनलाई प्राथमिकता दिने नयाँ यात्राको सुरुआत भएको बताए । मङ्गला गाउँपालिका–५ अर्मनमा जन्मिएका तथा सदरमुकाम बेनीमा हुर्किएका दूतराजले आफूले करिब १४ वर्षदेखि देखेको सपना जन्मथलोबाटै पूरा गर्न पाउँदा खुसी लागेको बताए ।

“विभिन्न विधाका वाद्यवादक र प्राविधिकलाई समेटेर लोकसंगीतमा नौलो अभ्यासमार्फत दर्शकमाझ पुग्ने अभियान जन्मथलोबाटै सुरु गरेको छु,” उनले भने, “करिब १४ वर्षदेखि देखेको सपना पूरा भएको छ ।”

दूतराजका अनुसार अब उनका सांगीतिक प्रस्तुति पहिलेझैँ ट्रयाकमा मात्र आधारित हुने छैनन् । ब्यान्डमा आबद्ध वाद्यवादकसहित प्रत्यक्ष प्रस्तुति दिने उनको तयारी छ ।

उनले ब्यान्डमार्फत नेपाली मौलिक बाजा तथा लोकसंगीतलाई देशभित्र मात्र नभई अन्तर्राष्ट्रियस्तरमा समेत प्रवर्द्धन गर्ने लक्ष्य लिएका छन् ।

‘दूतराज प्रकाश एन्ड लाइनअप’मा वाद्यवादकसहित १२ जना कलाकार आबद्ध छन् । ब्यान्डले आगामी दिनमा नेपालका विभिन्न सहरमा सांगीतिक यात्रा गर्ने तयारीसमेत गरेको छ ।

दूतराजले आफ्नो ब्यान्डलाई नेपाली लोकसंगीतमा नयाँ प्रयोगका रूपमा अघि बढाउन खोजेका छन् । अहिलेसम्म अधिकांश लोकसंगीतका कार्यक्रम ट्रयाकमा आधारित हुँदै आएको अवस्थामा प्रत्यक्ष वाद्यवादनसहितको प्रस्तुति दिने अभ्यासलाई उनले नयाँ सुरुआतका रूपमा लिएका छन् ।

जन्मथलोमै नयाँ अध्याय

ब्यान्डको औपचारिक घोषणा र पहिलो प्रस्तुति म्याग्दीबाटै गर्नु दूतराजका लागि भावनात्मक विषयसमेत बनेको छ । म्याग्दी उद्योग वाणिज्य सङ्घले आफूलाई पहिलोपटक मञ्चमा गीत गाउने अवसर दिएको स्मरण गर्दै उनले जीवनको नयाँ अध्याय पनि त्यहीँबाट सुरु गर्न पाउँदा खुसी लागेको बताएका छन् ।

यसअघि भोटेकोशी बाढीका कारण दूतराजको ब्यान्ड घोषणा कार्यक्रम स्थगित गरिएको थियो । पूर्वनिर्धारित कार्यक्रम भदौ १२ गतेका लागि तय भए पनि विपत्तिपछि त्यसलाई स्थगित गरी भदौ २७ गते बेनीमा आयोजना गरिएको थियो ।

प्रतिकूल मौसममा पनि भरियो खुलामञ्च

ब्यान्ड सार्वजनिक तथा सांगीतिक प्रस्तुतिका लागि म्याग्दीका साथै छिमेकी जिल्ला बागलुङ र पर्वतबाट समेत ठूलो सङ्ख्यामा दर्शक बेनी पुगेका थिए । प्रतिकूल मौसमका बाबजुद दर्शकले दूतराजको प्रस्तुति उत्साहपूर्वक हेरे ।

प्रस्तुतिअघि दूतराजले आफ्नो सांगीतिक यात्राका संघर्षपूर्ण दिन सम्झिएका थिए । उनले आफूलाई निरन्तर साथ दिने दर्शक, शुभचिन्तक तथा सहयोगीप्रति आभार व्यक्त गर्दै आगामी यात्रामा समेत साथको अपेक्षा गरे ।

म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले विपन्न पृष्ठभूमिबाट आएका दूतराजको संघर्ष र सफलताको यात्रा प्रेरणादायी रहेको बताए । सङ्घले उनको सांगीतिक यात्राको सुरुआतदेखि नै सहयोग गर्दै आएको उनले उल्लेख गरे ।

कार्यक्रमका अवसरमा म्याग्देली बालकलाकार क्रियशन रोकामगरलाई समेत सम्मान गरिएको थियो ।

दूतराजका ‘मनमाया’, ‘घर कता हो बैनीको’, ‘रिमै’, ‘रेशम’, ‘छैन र माया’ र ‘ऐना झ्यालैमा’ लगायतका गीत लोकप्रिय छन् । नयाँ ब्यान्डमार्फत उनले लोकसंगीतलाई प्रत्यक्ष वाद्यवादन, मौलिक बाजा र नयाँ प्रस्तुति शैलीसँग जोड्ने प्रयास थालेका छन् ।

सम्बन्धित समाचार