दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारको गौरवको योजनाका रूपमा निर्माण सुरु गरिएको दार्चुलाको खलङ्गा–खार–देथला–पारीबगड सडक आठ वर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन। बजेट अभाव तथा बाढीपहिरोका कारण सडक निर्माणले अपेक्षित गति लिन नसकेको हो।
महाकाली नगरपालिका–४ बङ्गाबगडदेखि नौगाड गाउँपालिकाको दल्लेख हुँदै मार्मा र अपिहिमाल गाउँपालिकालाई जोड्ने यो सडकलाई प्रदेश सरकारले आर्थिक वर्ष २०७५/७६ मा प्रदेश गौरवको सडक घोषणा गरेर निर्माण सुरु गरेको थियो। सडकको कुल लम्बाइ ९५ किलोमिटर छ।
सडक निर्माण पूरा नहुँदा वर्षायाममा स्थानीयले जोखिमपूर्ण यात्रा गर्नुपरेको छ। पानी परेपछि सडक हिलाम्मे र चिप्लो हुने तथा ठाउँठाउँमा खाल्टाखुल्टी परेकाले यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ। खलङ्गादेखि दल्लेखसम्मको १६ किलोमिटर खण्डमा बर्खाका बेला सवारीसाधन चलाउन निकै समस्या हुने गरेको यातायात व्यवसायीले बताएका छन्।
२०७९ भदौमा गराकुखोलामा आएको भीषण बाढीले खलङ्गाभन्दा माथिको करिब सात किलोमिटर सडक पूर्ण रूपमा क्षति पुर्याएको थियो। अहिले उक्त क्षतिग्रस्त खण्डको पुनर्निर्माण भइरहेको पूर्वाधार विकास कार्यालय, बैतडीले जनाएको छ।
सडक निर्माणका लागि गत असारमा तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारले सात करोड रुपियाँ बजेट विनियोजन गरेको थियो। तर उक्त बजेट कार्यान्वयन हुन सकेन। नयाँ सरकार गठन भएसँगै नयाँ बजेट ल्याउने तयारी भइरहेको छ। स्थानीयवासीले सडक निर्माण पूरा हुने गरी पर्याप्त बजेट छुट्याउन माग गरेका छन्।
सडकको दुरवस्थाका कारण यात्रु लामो समय बाटोमै अलपत्र पर्ने, आकस्मिक बिरामीलाई उपचारका लागि लैजान समस्या हुने तथा किसानलाई कृषि उपज बजारसम्म पुर्याउन कठिनाइ हुने गरेको छ। ९५ किलोमिटरमध्ये आठ किलोमिटर सडकखण्डमा अहिले करिब १९ करोड रुपियाँ लागतमा कालोपत्रे गर्नुअघिका काम भइरहेका छन्।
यसैबीच, राष्ट्रिय गौरवको महाकाली करिडोरअन्तर्गत हालसम्म २८८.५ किलोमिटर क्षेत्रमा ट्र्याक खुलेको र अधिकांश क्षेत्रमा गाडी सञ्चालनमा रहेको जनाइएको छ। ब्रह्मदेवदेखि तिङ्करभञ्ज्याङसम्मको करिडोरको कुल लम्बाइ ४१३ किलोमिटर छ।