काठमाडौं । नेसनल युथ पार्लेमेन्ट तथा ग्लोबल युथ पार्लेमेन्टका संस्थापक अध्यक्ष दिवाकर अर्याल उज्यालो नेपाल पार्टीको महासचिवमा नियुक्त भएका छन्। पार्टीको आइतबार बसेको सचिवालयको पूर्ण बैठकले अर्याललाई महासचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
पार्टीले अर्याललाई औपचारिक रूपमा पार्टीमा भित्र्याउने तथा उनीसँग समसामयिक राजनीतिक विषयमा अन्तर्क्रिया गर्ने कार्यक्रमसमेत तय गरेको छ। यसका लागि सोमबार दिउँसो साढे ३ बजे कुण्डली क्लबमा पत्रकार सम्मेलन आयोजना गरिएको पार्टीले जनाएको छ।
अर्याल युवा नेतृत्व तथा राजनीतिक सहभागिताका क्षेत्रमा सक्रिय रहँदै आएका व्यक्ति हुन्। नेसनल युथ पार्लेमेन्ट र ग्लोबल युथ पार्लेमेन्टको संस्थापक अध्यक्षका रूपमा उनले युवालाई राजनीतिक बहस र नेतृत्व विकासमा जोड्ने गतिविधि सञ्चालन गर्दै आएका छन्।
उज्यालो नेपाल पार्टीले अर्याललाई महासचिवको जिम्मेवारी दिएसँगै पार्टीको संगठनात्मक संरचना र नेतृत्वमा युवा सहभागिता थप बलियो बनाउने सन्देश दिएको छ। अर्यालको नियुक्तिबारे थप धारणा र पार्टीमा उनको भूमिकाबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराउने तयारी गरिएको छ।