जेन–जी सहिद स्मृति दिवसबारे धितालको अभिव्यक्तिले विवाद, रास्वपासँग स्पष्टीकरणको माग

1.4k Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सचेतक क्रान्तिशिखा धितालको अभिव्यक्तिप्रति जेन–जी सहिद परिवार तथा घाइतेहरूले आपत्ति जनाएका छन्।

जेन–जी सहिद परिवार कल्याणकारी समाज र घाइते जेन–जी नेपालले सोमबार सिंहदरबारको दक्षिण गेटबाहिर प्रदर्शन गर्दै धितालको अभिव्यक्तिले जेन–जी सहिदको योगदान र प्रथम स्मृति दिवसको भावनामाथि चोट पुर्‍याएको बताएका हुन्। त्यसपछि उनीहरूले पत्रकार सम्मेलनसमेत गरेका थिए।

सहिद परिवार र घाइतेहरूले धितालले सहिदहरूको त्याग तथा बलिदानलाई हल्का रूपमा लिँदै सार्वजनिक रूपमा आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लगाएका छन्। उनीहरूले उक्त अभिव्यक्तिप्रति सार्वजनिक रूपमा माफी माग्नुपर्ने माग गरेका छन्।

जेन–जी सहिद परिवार कल्याणकारी समाजका सचिव ठाकुरनाथ गौतमले सहिद परिवारलाई कुनै प्रकारको सहयोग वा साथ नदिएको अवस्थामा उल्टै उनीहरूको भावनामा चोट पुर्‍याउने अधिकार कसैलाई नभएको बताए।

उनका अनुसार जेन–जी सहिद प्रथम स्मृति दिवसलाई मनोरञ्जनात्मक कार्यक्रम वा कन्सर्टका रूपमा प्रस्तुत गर्ने विषयमा समेत परिवारहरू असन्तुष्ट छन्। राजनीतिक जिम्मेवारीमा रहेका व्यक्तिबाट यस्ता अभिव्यक्ति आउनुले पीडित परिवारको भावनामा थप चोट पुगेको उनीहरूको भनाइ छ।

सहिद परिवार तथा घाइतेहरूले सांसद धितालको अभिव्यक्तिबारे रास्वपाले गम्भीर समीक्षा गरी संस्थागत धारणा सार्वजनिक गर्नुपर्ने माग गरेका छन्। साथै, सहिद र घाइते समुदायलाई चोट पुर्‍याउने अभिव्यक्तिका सम्बन्धमा पार्टीले आवश्यक कदम चाल्नुपर्ने उनीहरूको भनाइ छ।

उनीहरूले जेन–जी आन्दोलनमा ज्यान गुमाएका तथा घाइते भएकाहरूको योगदानलाई कुनै दल वा राजनीतिक स्वार्थभन्दा माथि राखेर राष्ट्रिय सम्मानको विषय बनाउनुपर्नेमा जोड दिएका छन्। उक्त प्रदर्शन र पत्रकार सम्मेलन सोमबार सिंहदरबारको दक्षिण गेटबाहिर गरिएको हो।

सम्बन्धित समाचार