काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले बिहीबार भारत भ्रमणमा जाने भएका छन्। भारतीय समकक्षी निर्मला सीतारमणको निमन्त्रणामा अर्थमन्त्री वाग्ले भारत जान लागेका हुन्।
नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवका अनुसार भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतीय अर्थमन्त्री सीतारमणसँग भेटवार्ता गर्नेछन्। त्यसैगरी, उनले भारतका विदेशमन्त्री डा. एस. जयशंकरसँग समेत भेट गर्ने कार्यक्रम रहेको छ।
भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले भारतमा आयोजना हुने कन्फेडेरेसन अफ इन्डियन इन्डस्ट्रिज (सीआईआई) को कार्यक्रममा समेत सहभागिता जनाउनेछन्।
उक्त कार्यक्रममा नेपालमा भारतीय लगानी विस्तार गर्ने विषयमा छलफल हुने बताइएको छ। विशेषगरी हस्पिटालिटी तथा वेलनेस क्षेत्रमा भारतीय लगानी भित्र्याउने सम्भावनाबारे अर्थमन्त्री वाग्लेले धारणा राख्ने स्रोतले जनाएको छ।
भारत भ्रमणलाई नेपाल–भारत आर्थिक सम्बन्ध थप मजबुत बनाउने तथा भारतीय निजी क्षेत्रको लगानी नेपालमा आकर्षित गर्ने अवसरका रूपमा हेरिएको छ। भ्रमणका क्रममा दुई देशबीच आर्थिक सहकार्य, लगानी तथा व्यापारका विषयमा समेत छलफल हुने अपेक्षा गरिएको छ।