काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेशप्रसाद बोहराले बाढी तथा पहिरोबाट प्रभावित नागरिकको घरदैलोसम्म सरकारको प्रभावकारी उपस्थिति पुग्न नसकेको बताएका छन् ।
सांसद बोहराले विपद्बाट प्रभावित नागरिक अहिले पनि राहत, पुनर्स्थापना र आवश्यक सहयोगको प्रतीक्षामा रहेको भन्दै सरकारले उद्धार तथा राहतलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।
उनका अनुसार बाढीपहिरोका कारण ठूलो जनधनको क्षति भएका क्षेत्रमा प्रभावित परिवारको अवस्था अझै कठिन छ । कतिपय नागरिकको घर तथा बस्तीमा क्षति पुगे पनि राज्यको तर्फबाट आवश्यक राहत तथा पुनर्स्थापनाका कार्यक्रम पर्याप्त रूपमा पुग्न नसकेको उनको भनाइ छ ।
उनले विपद् प्रभावित नागरिकलाई तत्काल आवश्यक खाद्यान्न, आवास, स्वास्थ्य उपचार तथा अन्य आधारभूत सामग्री उपलब्ध गराउन सरकार गम्भीर बन्नुपर्ने बताए । प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझेर स्थानीय तहसँग समन्वय गरी राहत वितरण र पुनर्निर्माणलाई अघि बढाउनुपर्ने उनको सुझाव छ ।
सांसद बोहराले विपद् व्यवस्थापनमा ढिलाइ हुँदा पीडित नागरिकको समस्या थप जटिल बन्न सक्ने भन्दै सरकारले कागजी योजना र घोषणाभन्दा प्रभावित नागरिकको घरदैलोसम्म पुगेर काम गर्नुपर्ने बताएका छन् ।
बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक, पुल, खानेपानी, विद्युत् लगायतका पूर्वाधारको पुनर्निर्माणसँगै विस्थापित परिवारलाई सुरक्षित स्थानमा पुनर्स्थापित गर्न पनि उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।