राप्रपा सांसद भाटको माग : आइतबारको बिदा खारेज गरी पुरानै व्यवस्था लागू गरौँ

1.5k Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले आइतबार दिइँदै आएको साप्ताहिक बिदा खारेज गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाका कारण सार्वजनिक सेवा प्रवाह प्रभावित भएको तथा विकास निर्माण र प्रशासनिक काममा ढिलाइ भएको दाबी गरे।

उनले आइतबारको बिदा आवश्यक नभएको भन्दै यसलाई हटाएर शुक्रबार आधा दिन र शनिबार पूर्ण बिदा दिने पुरानै व्यवस्था कायम गर्न सरकारलाई आग्रह गरे।

सांसद भाटले आइतबारको बिदाका कारण आम नागरिकले साताभर सरकारी सेवा लिन कठिनाइ भोग्नुपरेको बताए। उनका अनुसार सरकारी कार्यालयसँगै विद्यालय तथा शिक्षा क्षेत्रमा समेत आइतबारको बिदा आवश्यक नरहेको जनगुनासो रहेको छ।

उनले भने, ‘आइतबारको बिदा कसैलाई पनि चाहिएको छैन। न सरकारी कर्मचारीलाई यो आवश्यक छ, न त विद्यालय वा शिक्षा क्षेत्रलाई नै।’

बिदाको वर्तमान व्यवस्थाले अपेक्षित लाभ नदिएको भन्दै सांसद भाटले जनभावनाको कदर गर्दै तत्काल आइतबारको बिदा खारेज गरी पुरानै कार्यतालिका कार्यान्वयन गर्न सरकारसँग आग्रह गरे।

 
 
सम्बन्धित समाचार