काठमाडौं । नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशतभन्दा बढी मृत्यु नसर्ने अर्थात् दीर्घरोगका कारण हुने गरेको तथ्यांक सार्वजनिक भएको छ। मुटुरोग, क्यान्सर, मधुमेहलगायतका नसर्ने रोगका कारण हुने मृत्युको हिस्सा पछिल्लो समय बढ्दै गएको देखिएको छ।
स्वास्थ्य विज्ञहरूका अनुसार बदलिँदो जीवनशैली, अस्वस्थ खानपान, शारीरिक गतिविधिको कमी तथा वायु प्रदूषणजस्ता कारणले नसर्ने रोगको जोखिम बढिरहेको छ। यस्ता रोगले लामो समयसम्म स्वास्थ्यमा असर पार्ने र समयमै पहिचान तथा उपचार नहुँदा ज्यानसमेत जाने अवस्था देखिएको छ।
नेपालमा जनस्वास्थ्यको ठूलो चुनौतीका रूपमा नसर्ने रोगलाई लिइँदै आएको छ। विशेषगरी मुटुसम्बन्धी रोग, क्यान्सर र मधुमेहजस्ता रोगको रोकथाम तथा नियन्त्रणका लागि जनचेतना, नियमित स्वास्थ्य परीक्षण र स्वस्थ जीवनशैली आवश्यक रहेको विज्ञहरूको भनाइ छ।
नसर्ने रोगबाट हुने मृत्यु घटाउन रोग लागेपछि उपचार गर्नेभन्दा रोकथाम र प्रारम्भिक पहिचानमा जोड दिनुपर्ने आवश्यकता औँल्याइएको छ। यसका लागि स्वस्थ खानपान, नियमित व्यायाम, धूम्रपान तथा अन्य जोखिमपूर्ण बानीबाट टाढा रहने र समयमै स्वास्थ्य परीक्षण गर्ने विषयमा जनचेतना बढाउनुपर्ने देखिएको छ।