अन्ततः विभाजनको डिलमा नेपाली कांग्रेस

918 Shares

काठमाडौं । नेपाली कांग्रेसभित्रको लामो समयदेखिको आन्तरिक विवाद थप गहिरिँदै जाँदा पार्टी विभाजनको जोखिम बढेको छ। सभापति गगन थापा पक्ष र निवर्तमान सभापति शेरबहादुर देउवा पक्षबीच १५औँ महाधिवेशनको मिति तथा प्रक्रियालाई लिएर मतभेद कायम छ।

देउवाले मंगलबार सातबुँदे अपिल जारी गर्दै पार्टीभित्रको विवाद अन्त्य गरी एकता र सहमतिका आधारमा अघि बढ्न आग्रह गरेका छन्। उनले संस्थापन पक्षले एकपक्षीय रूपमा महाधिवेशन प्रक्रिया अघि बढाएको दाबी गर्दै यसले पार्टी विभाजनतर्फ जाने अवस्था सिर्जना गर्ने चेतावनी दिएका छन्।

देउवा पक्षले अदालतमा महाधिवेशनसम्बन्धी विषय विचाराधीन रहेकाले अन्तिम निर्णय नआउँदै प्रक्रिया अघि बढाउनु उचित नहुने तर्क गर्दै आएको छ। देउवाले आफू १४औँ महाधिवेशनबाट निर्वाचित सभापति भएकाले १५औँ महाधिवेशन सम्पन्न गरी नेतृत्व हस्तान्तरण गर्नु आफ्नो जिम्मेवारी भएको बताएका छन्।

यता पार्टीभित्र एकताको प्रयास पनि जारी रहेको छ। विवाद समाधानका लागि विभिन्न नेताहरूले दुवै पक्षलाई लचकता अपनाउन आग्रह गर्दै आएका छन्। पछिल्लो समय १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई विशेष महाधिवेशनपछि बनेको कार्यसमितिमा समायोजन गर्ने विषयमा समेत छलफल भएको छ।

महाधिवेशनको मितिलाई लिएर भने दुवै पक्षबीच फरक धारणा छ। संस्थापन पक्षले असोजमै महाधिवेशन गर्ने तयारी अघि बढाएको छ भने देउवाले मंसिर २१, २२ र २३ गते महाधिवेशन गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। यसले कांग्रेसभित्रको विवादलाई थप जटिल बनाएको छ।

सम्बन्धित समाचार