काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संघीय संसदमा संसदीय विशेष समिति गठन गर्न सर्वदलीय बैठकले निर्णय गरेको छ। भोटेकोशी बाढीलगायत पछिल्ला विपद्का घटनाबाट भएको क्षति र आगामी दिनमा अपनाउनुपर्ने सावधानीलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको हो।
बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी विषयलाई प्राथमिकताका साथ अघि बढाउन सभामुखसमक्ष विशेष समिति गठनका लागि आग्रह गर्ने निर्णय गरेको छ। समितिमार्फत विपद् व्यवस्थापनका विद्यमान अवस्था, चुनौती तथा सुधारका उपायबारे अध्ययन गर्ने अपेक्षा गरिएको छ।
पछिल्लो समय बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्का कारण देशका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। यस्ता घटनाबाट हुने क्षति न्यूनीकरण गर्न पूर्वतयारी, जोखिम पहिचान, उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुपर्ने विषय बैठकमा उठाइएको छ।
सर्वदलीय बैठकले विपद्का बेला राज्यका निकायबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा समेत जोड दिएको छ। संसदीय विशेष समितिले विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा सुझाव दिन सक्ने बताइएको छ।
विशेष समिति गठन भएपछि विपद् व्यवस्थापनसँग सम्बन्धित विषयमा संसदबाट नियमित अनुगमन तथा छलफललाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ।