काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि बनाइएको उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय सर्वदलीय बैठकले गरेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा बुधबार सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा पछिल्लो समय भएका प्राकृतिक विपद्का घटनाबाट प्रभावित क्षेत्रको उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका विषयमा छलफल भएको थियो। विशेषगरी भोटेकोशी बाढीबाट भएको क्षति र त्यसपछि गर्नुपर्ने कामलाई प्रभावकारी बनाउन राजनीतिक तहबाट समन्वय आवश्यक रहेको विषय उठाइएको थियो।
यसअघि बसेका सर्वदलीय बैठकहरूले पनि विपद् प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत तथा व्यवस्थापनका लागि विभिन्न प्रतिबद्धता जनाएका थिए। पछिल्लो बैठकले ती निर्णयको कार्यान्वयनलाई निरन्तरता दिनुपर्नेमा जोड दिएको छ।
बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू सहभागी थिए। रास्वपाका सभापति लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगनकुमार थापा, नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधवकुमार नेपाल, नेकपा एमालेकी नेत्री पद्मा अर्याल, राप्रपाका नेता ज्ञानबहादुर शाही र जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत नेताहरू सहभागी रहेको जनाइएको छ।
सर्वदलीय बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि राजनीतिक दलहरूबीच समन्वय कायम राख्दै प्रभावित क्षेत्रमा राहत, पुनर्स्थापना र पुनर्निर्माणका कामलाई प्रभावकारी बनाउने विषयमा समेत जोड दिएको छ।