सर्वदलीय बैठकका तीन निर्णय : विपद् व्यवस्थापनदेखि दीर्घकालीन समाधानसम्म सहकार्य

1.5k Shares

काठमाडौं । भोटेकोशी बाढीपछिको खोज, उद्धार तथा राहत व्यवस्थापन र विपद् जोखिम न्यूनीकरणका विषयमा बसेको सर्वदलीय बैठकले तीन वटा महत्वपूर्ण निर्णय गरेको छ। बैठकले विपद् प्रभावित क्षेत्रमा तत्काल राहत तथा उद्धारसँगै दीर्घकालीन समाधानका लागि राजनीतिक सहकार्य अघि बढाउने निष्कर्ष निकालेको हो।

बैठकले यसअघि शीर्ष नेतृत्वसहितको बैठकबाट भएका १० बुँदे निर्णयलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने निर्णय गरेको छ। साथै, भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि तीनै तहका सरकारलाई आवश्यक सहयोग गर्ने सहमति भएको छ।

त्यस्तै, केन्द्रमा जस्तै प्रदेश, जिल्ला र स्थानीय तहमा समेत सरकारलाई सहयोग गर्न राजनीतिक संयन्त्रमार्फत काम गर्ने निर्णय भएको छ। यसबाट विपद्का बेला सरकारका विभिन्न तहबीच समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने लक्ष्य राखिएको छ।

बैठकले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका दीर्घकालीन समाधानका लागि उच्चस्तरीय राजनीतिक संयन्त्रमार्फत राष्ट्रिय तथा राजनीतिक सहकार्य अघि बढाउने निष्कर्ष पनि निकालेको छ।

यसअघि पनि सर्वदलीय बैठकले बाढी प्रभावितको उद्धार, राहत तथा पुनर्निर्माणमा जोड दिने, आर्थिक सहयोग संकलनमा एकद्वार प्रणाली अपनाउने र विपद् पूर्वसूचना प्रणाली विकास गर्न सरकारलाई सुझाव दिने लगायतका निर्णय गरेको थियो।

सम्बन्धित समाचार