दुई महिनामै सरकारको आम्दानीभन्दा खर्च ९ अर्ब ७२ करोड बढी

939 Shares

काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामै सरकारको खर्च आम्दानीभन्दा करिब ९ अर्ब ७२ करोड रुपियाँ बढी भएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल खर्च १ खर्ब ९९ अर्ब ८३ करोड ७२ लाख रुपियाँ पुगेको छ । यो वार्षिक बजेटको ९ दशमलव ४१ प्रतिशत हो । सोही अवधिमा सरकारको कुल राजस्व सङ्कलन १ खर्ब ९० अर्ब १० करोड ७९ लाख रुपियाँ भएको छ, जुन वार्षिक लक्ष्यको ११ दशमलव ५८ प्रतिशत हो ।

सरकारले चालु आर्थिक वर्षका लागि चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड ९० लाख रुपियाँ विनियोजन गरेकोमा भदौ मसान्तसम्म १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख रुपियाँ खर्च गरेको छ । चालु खर्च वार्षिक लक्ष्यको ९ दशमलव ६ प्रतिशत हो ।

पुँजीगत खर्च भने तुलनात्मक रूपमा न्यून देखिएको छ । पुँजीगत शीर्षकमा ४ खर्ब ३१ अर्ब १० करोड ६३ लाख रुपियाँ विनियोजन गरिएकोमा दुई महिनामा ७ अर्ब ६६ करोड ४८ लाख रुपियाँ अर्थात् वार्षिक लक्ष्यको १ दशमलव ७८ प्रतिशत मात्रै खर्च भएको छ ।

वित्तीय व्यवस्थातर्फ भने ४ खर्ब २२ अर्ब ६४ करोड ९१ लाख रुपियाँ बजेट विनियोजन गरिएकोमा भदौ मसान्तसम्म ७० अर्ब १३ करोड ७० लाख रुपियाँ खर्च भएको छ । यो वार्षिक बजेटको १६ दशमलव ५९ प्रतिशत हो ।

राजस्वतर्फ करबाट १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपियाँ सङ्कलन भएको छ । सरकारले चालु आर्थिक वर्षमा कर राजस्वबाट १४ खर्ब ३ अर्ब ३१ करोड ८३ लाख रुपियाँ सङ्कलन गर्ने लक्ष्य राखेको छ ।

त्यस्तै गैरकर राजस्वबाट १० अर्ब ७७ करोड ६९ लाख रुपियाँ सङ्कलन भएको छ । सरकारले गैरकर राजस्वतर्फ १ खर्ब ७७ अर्ब रुपियाँ उठाउने लक्ष्य राखेको छ ।

सरकारले चालु आर्थिक वर्षमा ६१ अर्ब ७४ करोड ५४ लाख रुपियाँ प्रत्यक्ष वैदेशिक अनुदान प्राप्त गर्ने लक्ष्य राखेकोमा भदौ मसान्तसम्म ५ अर्ब ५३ करोड रुपियाँ बराबर अनुदान भित्रिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

यस तथ्याङ्कले आर्थिक वर्षको सुरुवाती दुई महिनामै सरकारी खर्च र आम्दानीबीच अन्तर देखिएको छ भने पुँजीगत खर्चको गति निकै न्यून रहेको देखाउँछ ।

सम्बन्धित समाचार