अर्थमन्त्री वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

799 Shares

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि बिहीबार भारत प्रस्थान गरेका छन् । भारत सरकारको निमन्त्रणामा उनी बिहान ७ः३५ बजेको उडानमार्फत नयाँदिल्ली प्रस्थान गरेका हुन् ।

अर्थमन्त्री वाग्लेको भ्रमणको मुख्य उद्देश्य विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीच आर्थिक, राजनीतिक र कूटनीतिक क्षेत्रमा सहकार्यका विभिन्न आयामबारे छलफल गर्नु रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले बिहीबार साँझ भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । भेटमा दुई देशबीचको आर्थिक सम्बन्ध तथा सहकार्यका विषयमा छलफल हुने बताइएको छ ।

शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवादमा वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् । सोही दिन साँझ भारतीय विदेशमन्त्री डा. एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यसपछि भारत व्यापार संवर्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाटमा पनि अर्थमन्त्री वाग्ले सहभागी हुनेछन् ।

शनिबार बिहान भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने औद्योगिक घरानासँगको सम्मेलनमा वाग्ले प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् । त्यसैगरी बिहान ११ः३० बजे दिल्ली स्कुल अफ इकोनोमिक्समा आयोजना हुने प्राज्ञिक छलफलमा उनी प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यतालिका रहेको छ ।

तीनदिने भ्रमण सम्पन्न गरी अर्थमन्त्री वाग्ले शनिबार साँझ ४ बजे स्वदेश फर्कनेछन् ।

भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्र राजभण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा. सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी तथा अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी छन् ।

सम्बन्धित समाचार