बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले संविधानले प्रदेश र स्थानीय तहलाई प्रदान गरेका अधिकार पूर्ण रूपमा कार्यान्वयन हुने गरी संघीय सरकारले आवश्यक अधिकार प्रत्यायोजन गर्नुपर्ने बताएका छन्।
संविधान दिवसका अवसरमा शुक्रबार राप्ती उपत्यका (देउखुरी)स्थित प्रदेश प्रशासनिक परिसरमा आयोजित सरसफाइ कार्यक्रममा मुख्यमन्त्री आचार्यले प्रदेश र स्थानीय तहले संविधानबाट प्राप्त गर्नुपर्ने सबै अधिकार अझै पूर्ण रूपमा प्रयोग गर्न नपाएको बताए।
उनले संविधानले निर्दिष्ट गरेका अधिकार प्रदेश र स्थानीय तहमा हस्तान्तरण गर्न संघीय सरकारको ध्यानाकर्षण गराए। उनका अनुसार संवैधानिक अधिकारको प्रभावकारी कार्यान्वयनबिना संघीय लोकतान्त्रिक गणतन्त्रको पूर्ण कार्यान्वयन सम्भव हुँदैन।
मुख्यमन्त्री आचार्यले संविधानको पूर्ण कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य आवश्यक रहेको बताए। तीनै तहका सरकारबीच अधिकार र जिम्मेवारीअनुसारको सहकार्य बलियो बनाउनुपर्ने उनको भनाइ थियो।
संविधान दिवसकै अवसरमा प्रदेश सरकारले दुई दिनसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने निर्णयअनुसार प्रशासनिक परिसरमा सरसफाइ अभियान सञ्चालन गरिएको हो। अभियानको उद्देश्य प्रदेश प्रशासनिक परिसरलाई स्वच्छ, व्यवस्थित र आकर्षक बनाउनु रहेको प्रदेश सरकारले जनाएको छ।
कार्यक्रममा प्रदेशका प्रमुख सचिव विनोदबहादुर कुँवरले प्रशासनिक परिसरलाई नमुनायोग्य बनाउने गरी सरसफाइ तथा संरक्षणको काम अघि बढाइएको बताए। उनका अनुसार परिसरलाई २३ वटा क्षेत्रमा विभाजन गरी प्रत्येक क्षेत्रमा सरसफाइ केन्द्र तोकिएको छ।
सरसफाइपछि प्रशासनिक परिसरमा फलफूलका बिरुवा रोप्ने र तिनको संरक्षणलाई समेत अभियानकै रूपमा अघि बढाउने योजना रहेको कुँवरले जानकारी दिए। परिसरको सरसफाइ, सुधार र संरक्षणको अवस्थाको मूल्यांकन गर्न प्रदेश योजना आयोगका सचिवको नेतृत्वमा मूल्यांकन टोलीसमेत गठन गरिएको छ।